राष्ट्रिय सभा निर्वाचन: आइतबार रातिदेखि मौन अवधि सुरु

माघ ९, २०७८ | काठमाडौं

राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचन लागि आज मध्यराति १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुँदैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै माघ १२ गते हुने चुनावको मौन अवधि आज मध्यरातिबाट सुरु हुने जानकारी दिनु भएको हो । 

मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाउनुपर्ने, सामाजिक सञ्जाल मार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न/नगराउन आग्रह गरेको छ ।

मतदाताले प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन र उपनिर्वाचनमा आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ । 


प्रतिक्रिया