नेपालमा पछिल्ला साता देखिएको संक्रमणमध्ये ८८ प्रतिशत ओमिक्रोन

रेडियो कान्तिपुर संवाददाता

माघ ९, २०७८ | काठमाडौं

नेपालमा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ३ सय ७७ जनाको पीसीआर परिक्षणमा ५ हजार ५ सय ९८ तथा ४ हजार ६० एन्टीजेन परिक्षणमा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक १ हजार ४ सय १६ जना संक्रमित निको भएका छन् । सोही अवधिमा ४ जनाको मृत्यु भएको छ । 

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको मन्त्रालयको तथ्यांक छ । देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो पटक संक्रमण दर ४१ प्रतिशत भन्दा बढी देखिएको बताउनुभयो । मन्त्रालयका अनुसार, पछिल्लो पटक गरिएको नमूना परीक्षणबाट ३२ मध्ये २८ वटा नमूनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । सो तथ्याङकले नेपालमा पछिल्ला हप्तामा भइरहेको संक्रमणमध्ये ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको मन्त्रालयले जनाएको छ । विश्वका अन्य देशमा जस्तै नेपालमा पनि ओमिक्रोनको संक्रमण बढिरहेकाले सचेत रहन सहप्रवक्ता अधिकारीले आग्रह गर्नुभयो ।

 यसैवीच, काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि भोलिबाट लागू हुने गरी ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालका अनुसार, स्वास्थ्यकर्मी र कर्मचारी गरी ५० जना भन्दा बढीमा संक्रमण देखिएको हो । 


प्रतिक्रिया