राष्ट्रियसभा निर्वाचन : मतदान सुरु

रेडियो कान्तिपुर संवाददाता

माघ १२, २०७८

राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन अयोगले जनाएको छ । मतदानका लागि प्रदेश सदस्य र पालिका सदस्यका लागि छुट्टाछुट्टै बुथ निर्माण गरिएको छ । ७ वटा प्रदेशमा १४ वटा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि दुई प्रकारका मतपत्र तयार गरिएको प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो छ ।

प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि मतदान जारी छ । प्रदेश १ मा ३ सय ६४, मधेश प्रदेशमा ३ सय ७२, बागमती प्रदेशमा ३ सय ४६, गण्डकी प्रदेशमा २ सय २९, कर्णाली प्रदेशमा १ सय ९१, लुम्बिनी प्रदेशमा २ सय ९६ र सुदूरपश्चिम प्रदेशमा २ सय २७ गरी सातै प्रदेशमा कुल २ हजार २५ मतदाता रहेका छन् ।

जसमा प्रदेशसभा सदस्यहरू ५ सय ३२, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४ सय ९३ रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच मुख्य प्रतिस्पर्धा हुदैछ ।

कोभिड—१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै मतदानका लागि खोप कार्डको अनिवार्य व्यवस्था गरेको प्रवक्ता शर्मा पौडेलले बताउनुभयो । त्यस्तै, सबै केन्द्रमा एम्बुलेन्स सहितको स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ भने संक्रमित मतदातालाई छुट्टै मतदानको व्यवस्था गरिएको छ । मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी भएको प्रवक्ता पौडेलले बताउनुभयो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रदेश १ को मतदानमा मात्र सहभागी हुने भएको छ । प्रदेश १ मात्रै पार्टीको उम्मेदवार भएकाले अन्य प्रदेशको मतदानमा सहभागी नहुने निर्णय गरिएको महामन्त्री भूवन पाठकले बताउनुभयो । विवेकशील साझा पार्टीले पनि बागमति प्रदेशमा हुने निर्वाचनमा सहभागी नहुने जनाएको छ ।  


प्रतिक्रिया