१८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी

माघ १२, २०७८

राष्ट्रिय सभामा रिक्त १९ पदका लागि आज भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा खुल्ला र महिलातर्फ सत्तारुढ गठबन्धन तथा अल्पसंख्यक/अपांगतर्फ प्रतिपक्षी एमालेका उम्मेदवार विजयी भएका छन् । खुल्लातर्फ कांग्रेसका गोपाल बस्नेत र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी जयन्ती राई तथा अल्पसंख्यक/अपांगततर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । खुल्लातर्फ कंग्रेसका बस्नेत र एमालेका गुरु बरालको बराबर मत आएपछि गोला प्रथाबाट निर्णय लिइएको निर्वाचन अधिकृत भरत लम्सालले बताउनुभयो ।

मधेस प्रदेशबाट राष्ट्रिय सदभा सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल विजयी हुनु भएको छ । अर्यालले स्थानीय तहबाट १ सय ५८ मत र प्रदेश तर्फ ६९ मत सहित ६ हजार १ सय ५६ मतभार प्राप्त गर्नुभयो । महिला समुहबाट लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपा यादवले स्थानीय तर्फ ८१ र प्रदेशबाट २७ मत सहित २ हजार ७ सय ५४ मतभार प्राप्त गर्नुभयो । एमालेकी उम्मेदवार बीना साहले स्थानीय तर्फ ९ र प्रदेश तर्फ ३ गरी कुल ३ सय ६ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको छ ।

बाग्मती प्रदेशको दुई सिटमा महिलातर्फ एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी हुनुभएको छ ।

गण्डकी प्रदेशमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट क्रमश: माओवादी केन्द्रका सुरेश आले र भुवन बहादुर सुनार निर्वाचित हुनुभएको छ ।

लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा विजयी हुनुभएको छ । गठबन्धनको सहमति अनुसार एक सिट पाएको जनमोर्चाका विश्वकर्माले राष्ट्रिय सभामा प्रवेश पाउनुभएको हो ।

कर्णाली प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङ र माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित हूनुभएको छ ।

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनबाट महिलातर्फ एकीकृत समाजवादीकी मदन कुमारी शाह, दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी हुनुभएको छ । 


प्रतिक्रिया