चितवन कांग्रेस सभापतिमा खनाल चयन

फाल्गुन २१, २०७८

दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समेत समर्थन गरेपछि नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल चयन भएका छन् । चितवन कांग्रेसको सभापति पदका लागि बिहिबार पाँच जनाले मनोनयन दायर गरेका थिए । हिजो भएको मतदानपछिका गणनामा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नल्याएपछि बढी मत ल्याएका दुईजना उम्मेद्वार खनाल र श्रेष्ठबीच आज मध्यान्ह पुन: मतदान हुने कार्यक्रम थियो । तर प्रतिस्पर्धामा रहेका श्रेष्ठले पनि खनाललाई नै समर्थन गरेपछि निर्वाचन समितिले खनाल सभापतिमा चयन भएको घोषणा गरेको हो । 

पहिलो चरणमा खनालले ७ सय ४६ र श्रेष्ठले ६ सय ६२ मत ल्याएका थिए । श्रेष्ठ संस्थापन पक्षका उम्मेद्वार थिए । चितवन कांग्रेसको सभापतिमा उत्तम जोशी, सुर्यकान्त खनाल र कैलाश कोइराला पनि प्रतिस्पर्धामा थिए । नयाँ कार्य समितिको ४८ पदमा निर्वाचन भएको छ । बाँकी पदको मत गणना भोलिदेखि सुरू हुने कांग्रेस चितवनको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया