माओवादी केन्द्रले असार दोस्रो साता पदाधिकारी टुङ्गो लगाउने

रेडियो कान्तिपुर संवाददाता

असार ६, २०७९

नेकपा माओवादी केन्द्रले असार दोस्रो साता बस्ने केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुङ्गो लगाउने दावी गरेको छ । आठौं केन्द्रीय महाधिवेशन सम्पन्न भएको झण्डै ७ महिना हुन लाग्दा समेत पदाधिकारी चयन गर्न नसकेको भन्दै आलोचित माओवादी केन्द्रले असार दोस्रो साता बस्ने केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुङ्गो लगाउने बताएको हो । अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा दावेदारीको आंकाक्षी धेरे भएकाले माओवादी केन्द्रलाई समग्र पदाधिकारी टुङ्गो लगाउन समस्या भएको हो । महासचिवमा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र बर्षमान पुनबीच बढी प्रतिस्पर्धा छ । यद्यपी महासचिव पदका लागि बाहिर आए जस्तो पार्टीमा विवाद नरहेको नेता लिलामणी पोख्रेलले बताउनुभयो ।असार १५ पछि बस्ने केन्द्रीय समितिको बैठकबाट पदाधिकारी, स्थायी समिति तथा केन्द्रीय समितिलाई पुर्णता दिने तयारी भईरहेको नेता पोख्रेलको भनाई छ । यस्तै पार्टीका विभिन्न विभागहरु, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद एवं विभिन्न विभागहरु गठन गर्ने माओवादी केन्द्रको तयारी छ ।

आठौं केन्द्रीय महाधिवेशन सकिएको झण्डै ७ महिना हुनै लाग्दा पार्टीका संगठनात्मक संरचना अस्तव्यस्त छन । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन गत पुष ११ देखि १८ गतेसम्म काठमाडौंमा भएको छ । सो महाधिवेशनले अध्यक्ष र आंशिक केन्द्रीय सदस्य चयन गरेपनि पार्टीका अन्य विभाग तथा संरचनाले पुर्णता पाउन सकेको छैन । 


प्रतिक्रिया