विदेशमा रहेका नेपाली मतदातालाई भोट हाल्ने व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

असार ६, २०७९

नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विदेशमा रहेका नेपाली मतदातालाई आगामी संघीय र प्रदेश निर्वाचनमा भोट हाल्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर महामन्त्रीद्वयले यसअघि सर्वोच्च अदालतले समेत आदेश दिइसकेको विषयमा छिटो निर्णयमा पुग्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको थियो ।

महामन्त्री शर्माले विदेशमा रहेका नेपाली मतदाताले कमाएर पठाउने नोट चल्ने तर भोट नचल्ने अवस्थाको अन्त्यका लागि प्रधानमन्त्री देउवाको ध्यानाकषर्ण गराइएको जानकारी दिनुभयो । यसबारे भोलि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको पनि ध्यानाकर्षण गराइने शर्माले बताउनुभयो । यसबाहेक महँगी नियन्त्रण, एसपीपीबारेको विवाद, पार्टीको नीति अधिवेशन, विभाग गठन, तथा भ्रातृ संगठनलाई पूर्णता दिने लगायत बिषयमा समेत पार्टी सभापतिसँग छलफल भएको महामन्त्री शर्माले जानकारी दिनुभयो । 


प्रतिक्रिया