विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न कानूनी र प्राविधिक समस्या

रेडियो कान्तिपुर संवाददाता

असार ७, २०७९

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न कानूनी र प्राविधिक समस्या देखिएको छ । मतदाता नामावली अध्यावधिक हुन नसकेको तथा अनलाईन भोटिङको व्यवस्थाका लागि कानून संशोधन गर्नुपर्ने भएपछि विदेशमा रहेका नेपालीलाई आसन्न निर्वाचनमा सहभागी गराउन सम्भव नदेखिएको हो । मतदाता नामावलीमा नाम रहेका नेपालीहरुले स्वदेश आएर मतदान गर्नु बाहेक अन्य कुनै पनि व्यवस्था लागु गर्ने अवस्था तत्काल नरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे लामो समय देखि बहस भएपनि कार्यन्वयनमा आउन सकेको छैन । उनीहरुको मताधिकारका लागि कानूनी व्यवस्था गर्न सर्बोच्च अदालतले २ वर्ष अघि नै परमादेश जारी गरिसकेको छ । निर्वाचन आयोगले भारतमा २० तथा अन्य मुलुकमा ४० लाख गरि विदेशमा ६० लाख हाराहारीमा नागरिक रहेको अनुमान गरेको छ ।

विदेशी नागरिकता लिईसकेकाको बारेमा यकिन तथ्याङक नहुँदा मताधिकारका लागि योग्य नागरिकको संख्या पनि पत्ता लाग्न नसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई छ । अनलाईन भोटिङका लागि पनि कानून संशोधन गर्नुपर्ने बाध्यता रहेकाले कम्तिमा आगामी संघीय निर्वाचनमा विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न नसकिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । 


प्रतिक्रिया