रविले गरे नयाँ पार्टी घोषणा

असार ७, २०७९

वैकल्पिक राजनीतिक शक्ति भनिएका दल र समूह प्रभावशाली हुन नसकिरहेका बेला सञ्चारकर्म छाडेका रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले सफलता पाएको पृष्ठभूमिमा लामिछानेले एक निजी टेलिभिजनसँगको आवद्धता छाडेको केही दिनमै दलको घोषणा गर्नुभएको हो । काठमाडौंमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहांले राजनीतिलाई सफा गर्न दल निर्माण गरेको बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वमा दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्नुभएको छ । सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको शासकीय व्यवस्थाको एजेण्डा अघि बढाउने भएको छ । लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसंँग चन्दा नलिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टी घोषणासभामा उहाँले दलको अवधारणा समेत सार्वजनिक गर्नुभएको थियो । आफू आम मानिसको अवस्था बदल्न राजनीतिमा आएको लामिछानेको भनाइ छ ।

सयौ समर्थक माझ पार्टी घोषणा गरेका लामिछानेले आफ्नो पार्टीको भ्रातृ संगठनहरू नहुने बताउनुभयो । यसैवीच, काठमाडौंको सभागृहमा पार्टी घोषणा गरेपश्चात् उहाँले निर्वाचन आयोगमा आजै दल दर्ताको निवेदन समेत दिनुभएको छ । स्वतन्त्र भनिएको व्यक्तिले स्वतन्त्रको नाम राखेर दल खोलेको भन्दै सामाजिक सञ्जालमा पक्ष–विपक्षमा टिका–टिप्पणी भएका छन् । 


प्रतिक्रिया