न्यायाधीश कोइरालाको कार्यसम्पादनमा रोक

रेडियो कान्तिपुर संवाददाता

असार ८, २०७९ | काठमाडौं

घूस लेनदेनसम्वन्धि सम्वाद गरिएको अडियो प्रकरणमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई न्याय परिषद्ले कार्यसम्पादनमा रोक लगाएको छ । कोइरालाले छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय न्यायपरिषद्को आजको बैठकले गरेको हो । 

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूस रकम लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बसेको थियो । बैठकले सो प्रकरण छानबिनका लागि परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल हुनुहुन्छ । 

समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने जिम्मा दिइएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच थुनामा रहेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घूस लेनदेनबारे भएको फोनवार्ता सार्वजनिक भएको थियो । यसैवीच, काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै कोइरालाले घटनाबारे न्यायपरिषद्बाट छानिबनको माग गर्दै त्यसमा पूर्ण सहयोग गर्ने समेत बताउनुभएको छ ।  


प्रतिक्रिया