घोषित मितिमा निर्वाचनका लागि तयार: आयोग

श्रावण १९, २०७९

निर्वाचन आयोगले घोषित मितिमा निर्वाचनका लागि तयार रहेको बताएको छ । आयोगले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर ४ गते आइतबारका लागि तोकएको चुनावको काम तत्काल अघि बढाउने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदशेसभाको निर्वाचन अपेक्षित र नियमित विषय रहेको बताउनुभयो । अहिलेसम्म गरिएको अनौपचारिक तयारीलाई औपचारिक रुप दिने उहाँको भनाई थियो ।

प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकालको व्याख्या आयोगले नगर्ने भन्दै संविधान र निर्वाचन कानुनमा भएको व्यवस्था अनुसार आउँदो मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि सकिने प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो । उम्मेदवारी दिएपछि प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको पद स्वत: सकिने उहाँको भनाई थियो ।

मतदाता शिक्षा परिष्कृत गरेर लैजाने तयारी भएको उहाँले बताउनुभयो । आयोगले छुट्टाछुटटै मतपत्र र छ्ट्टाछुट्टै मतपेटिकाको व्यवस्था गर्ने जनाएको छ । आइतबारदेखि राजनीतिक दल दर्ता प्रारम्भ हुने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि एक करोड ८६ लाख मतदाता हुन सक्ने आयोगको प्रारम्भिक अनुमान रहेको छ । स्थानीय तहको निर्वाचनको तुलनामा १० लाख मतदाता बढ्ने आयोगको भनाई छ ।

यसैबीच निर्वाचन आयोगले मतदाता नामावली दर्ता भोलिदेखि स्थगित गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोगले मतदाता नामावली स्थगित गर्ने भएको हो । 


प्रतिक्रिया