प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न प्रदेश सरकार सहमत

भाद्र १६, २०७९

प्रदेश १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न प्रदेश सरकारका मन्त्री, सांसद तथा सचिव सहमत भएका छन् । यसका लागि आवश्यक अध्ययन तथा नीति निर्माणमा प्रदेश सरकार लाग्ने उनीहरुको भनाई छ । वार्षिक चार अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने चिया क्षेत्रमा देखिएका समग्र समस्या सम्बोधन गर्न पनि चिया विशेष क्षेत्र घोषणा आवश्यक रहेको उनीहरुको तर्क छ । विश्व बजारमा नेपाली चियाको माग उच्च भएपनि भारतीय बजारमा मात्र निर्भर रहदा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार खुम्चिएको सरोकारवालाको आरोप छ । 

नेपाली चियाको प्रवद्र्धन, विकास र विस्तारमा योजनावद्ध कार्यक्रम गर्नेगरी प्रदेशलाई चिया विशेष क्षेत्र घोषणाको पहल थाल्ने उनीहरुको भनाई छ । प्रदेश कृषि मन्त्री झलकबहादुर मगरले चिया क्षेत्रको विकास र प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका र जिम्मेवारी महत्वपूर्ण रहने बताउनुभयो । विक्रम सम्वत् १९२० मा इलामबाट सुरु भएको चिया खेती मुलुकका २८ जिल्लामा विस्तार भएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा रहेको चिया खेतीबाट बार्षिक दुई करोड ८० लाख केजी भन्दा बढी तयारी चिया उत्पादन हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये ९९ प्रतिशत चिया प्रदेश १ मा उत्पादन हुने गरेको बोर्डले जनाएको छ । 


प्रतिक्रिया