उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण

रेडियो कान्तिपुर संवाददाता

आश्विन ९, २०७९ | काठमाडौं

उत्तर कोरियाले पुन: ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेकाबेला उत्तरले संदिग्ध ब्यालेष्टिक क्षेप्यास्त्रको प्रहार गरेको बीबीसीले जनाएको छ । संयुक्त सैन्य अभ्यासअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरियाको भ्रमणमा जाने तयारी समेत भएको छ । त्यसअघि अमेरिकी विशेष सैन्य विमान दक्षिण कोरियामा अवतरण गरिसकेको छ । राष्ट्रसंघको प्रतिबन्धका बाबजुत उत्तर कोरियाले पटक पटक आणविक हतियारको परिक्षण गर्दै आएको छ ।

प्योङयाङबाट १ सय किलोमिटर उत्तरको तेचोनबाट स्थानीय समयअनुसार बिहान ७ बजे क्षेप्यास्त्र परिक्षण गरेको दक्षिण सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेप्यास्त्रले ६० किलोमिटरको उचाइमा करिब ६ सय किलोमिटर उडान गरेको दक्षिण कोरियाली सेनाको दाबी छ । अमेरिका र दक्षिण कोरियाको सैन्य गठबन्धनको प्रतिकृया स्वरुप उत्तरले क्षेप्यास्त्र प्रहार गरेको रान्ड कर्पोरेशनका विश्लेषक सु किमले बताएका छन् । 


प्रतिक्रिया