महान पर्व बडादशैं शुरु

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०७९

महान पर्व बडादशैं आज शुरु भएको छ । पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ । आफना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौ वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै बडादशै सुरु हुन्छ । घटस्थापनाको शुभ साइत बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । आजैदेखि दशै घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

 नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशै घरमा विधिपूर्वक राखेर त्यसमाथि विहानै जौ रोप्ने गरिन्छ । घटस्थापनाको उपलक्ष्यमा आज काठमाडौको हनुमान ढोका दरबारमा रहेको दशै घरमा वैदिक विधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गाको पूजा गरिन्छ । 

आज विधिपूर्वक घर–घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।


प्रतिक्रिया