मध्यरातिबाट निर्वाचन आचारसंहिता लागु हुँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७९ | काठमाडौं

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज राति १२ बजेपछि कार्यन्वयन हुने गरी चुनावी आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता लागू गर्न लागिएको जानकारी दिनुभयो । निर्वाचनमा खटिने राजनीतिक दल र तिनका प्रतिनिधि, सुरक्षाकर्मी, शिक्षकशिक्षिकासहित सबै सरोकारवाला निकायका लागि आचारसंहिता लागू गर्न लागेको हो ।

 आयोगका अनुसार आचारसंहिता सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी तथा स्थानीय कार्यपालिका, संघ–प्रदेश र स्थानीय तहका कर्मचारी, विभिन्न दलका भातृ संस्था, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चारमाध्यम लगायत निकायलाई लागू हुनेछ । आचारसंहिता लागु भएपछि सार्वजनिक पद धारण गरेका सरकारी र निजी सेवामा कार्यरत कसैले पनि कुनै दल र उम्मेदवारको प्रचार प्रसार गर्न पाउने छैनन् । विदेश भ्रमणमा देशको प्रतिनिधित्व हुने गरि जानका लागि आयोगको अनुमति लिनुपर्ने छ ।

यस्तै राजनीतिक दलले कुनैपनि जुलुस, आमसभा, कोणसभा स्थानीय प्रशासनको अनुमति विना गर्न पाउने छैनन । उम्मेदवारले मनोनयन दर्ता गर्दा निर्वाचनमा आफुले गर्ने अनुमानित खर्चको विवरण खुलाउनुपर्ने र सम्पुर्ण खर्च बैंकिङ वा वित्तिय संस्थाबाट गर्नुपर्ने प्रावधान तोकिएको आयोगले जनाएको छ । आचारसंहितासम्वन्धि सूचना राजपत्रमा प्रकाशित गरिसकेको छ ।


प्रतिक्रिया