शेखर पक्षको आन्दोलनको औचित्य छैन:कांग्रेस प्रवक्ता

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७९ | काठमाडौं

नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सहमति नहुँदै टिकट वितरणलाई लिएर विरोध गर्नुको औचित्य नभएको बताएको छ । संस्थापन इतर पक्षले समानुपातिक सूचिलाई लिएर असन्तुष्टी जनाइरहेका बेला प्रवक्ता प्रकाशशरण महतले विवाद गर्नुको औचित्य नभएको बताउनुभएको हो । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले पार्टीभित्र सहमतिका आधारमा समानुपातिकको सूचि तयार भएको बताउनुभयो ।

सत्तारुढ गठबन्धनभित्र केही दिनभित्र सिट बाँडफाँटमा सहमति हुने महतको भनाइ थियो । यसैबीच, कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु दुर्भाग्यपूर्ण र संविधानको उल्लंघन भएको बताएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता महतले संसदले दुई पटक पारित गरेको विधेयकमा नयाँ विषय नभएको बताउनुभयो । उहाँले नागरिकता विधेयक प्रमाणीकरण नहुनु दुर्भाग्य भएको बताउनुभयो ।

कांग्रेसले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारमा विभिन्न कारण देखाउदै आयोगले बन्देज लगाउन खोजेको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता महतले आयोगले चुनावी खर्च र प्रचारमा अंकुश लगाउदा दलहरुलाई थप मर्का पर्ने बताउनुभयो । 


प्रतिक्रिया