केपी ओलीको डबल ह्याट्रिक

मंसिर ७, २०७९ | बिर्तामोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँ गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित हुनु भएको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गर्नु भएको छ । निकटतम् प्रतिस्पर्धी अधिकारीले २३ हजार ७ सय ४३ मत मात्र प्राप्त गर्नु भयो । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई पराजित गर्नु भएको थियो । त्यसबेला पनि ओलीले अधिकारीलाई २८ हजार ८ सय ४२ को भारी मतान्तरले पराजित गरि प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग चुनावी तालमेल गरेको थियो । ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आउनु भएको छ । 

उहाँ ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित हुनु भएको थियो । ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित हुनु भएको थियो । ओली ०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट पराजित हुनु भएको थियो । सो निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित हुनु भएको थियो । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित हुनु भएको थियो । राज्य पुर्नसंरचनापछि साविकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ । झापा ५ बाट ०७४ उहाँ सर्वाधिक मतकासाथ निर्वाचित हुनु भएको थियो ।  


प्रतिक्रिया