एमाले-माओवादी सहित ७ दलको नयाँ गठबन्धन

पुस १०, २०७९ | काठमाडौं

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भंग भएपछि दुई ठुला कम्यूनिष्ट दलहरुबीच आलोपालो सरकार सञ्चालन गर्ने गरी नयाँ सत्ता समीकरण खडा भएको छ । 

नयाँ सत्ता समीकरणमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ती र जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटेको छ । त्यस्तै, तीन स्वतन्त्र सांसदले समेत नयाँ समीकरणका लागि सहमति जनाएका छन् ।

भावी प्रधानमन्त्रीका लागि नेपाली कंग्रेसको नेतृत्व सहमत नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका दलको समर्थन जुटाउन सफल हुनुभएको हो । आलोपालो प्रधानमन्त्रीमा सैद्धान्तिक सहमति भएपनि पहिलो चरणमा कसले नेतृत्व गर्ने भन्ने बिषयमा कंग्रेस र माओवादी केन्द्रबीच सहमति हुन सकेन । 

कंग्रेस सभापति शेरवहादुर देउवासँग सहमति हुन नसकेपछि दाहाल एमाले अध्यक्ष केपी ओलीको निवास पुग्नुभएको थियो । ओली निवासमा भेला भएका राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपाका शीर्ष नेताहरुबीच नयाँ समीकरणमा सहमति भएको हो । नेताहरुका अनुसार एमाले र माओवादी केन्द्र बीच ५ बर्षभित्र आधा–आधा अवधि प्रधानन्त्री बन्ने समझदारी भएको छ । 

प्रधानमन्त्री बाहेक अन्य पद बाँडफाँडमा भने सहमति बन्न बाँकी रहेको नेताहरुले बताएका छन् । यसैवीच, राप्रपाले सरकारमा सहभागी नभई प्रधानमन्त्रीमा दाहाललाई समर्थन मात्र गर्ने निर्णय गरेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै गठबन्धनमा रहेका दलहरुवीच सहमति हुन नसक्दा संसदको तेस्रो ठूलो दलका नेताले कार्यकारी प्रधानमन्त्री बन्ने अवसर मिलेको हो । सत्तासमीकरणमा देखिएको नाटकीय परिवर्तनपछि सार्वजनिक वृत्तमा तेस्रो दलको नेता प्रधानमन्त्री हुनु जनमतको अपमान भएको भन्दै टिप्पणी गरेका छन् । 


प्रतिक्रिया