एकीकृत समाजवादीसँग एकता गर्ने बिषयमा एमालेभित्र दुई धार

पुस १६, २०७९ | काठमाडौं

सात दलीय गठबन्धनको नयाँ सत्तासमीकरण भएसंगै एकीकृत समाजवादीसँग एकताको बिषयलाई लिएर एमालेभित्र दुई धार देखिएको छ । माओवादी र एमालेसहितको गठबन्धनमा एकीकृत समाजवादीलाई ल्याउने पहलसँगै एमालेका कतिपय नेताले वामपन्थी एकताका लागि प्रयास थालेका छन् । 

उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताले एकीकृत समाजवादीलाई सरकारमा मात्र नभई पार्टी एकीकरण गर्नुपर्ने धारणासहित छलफल गरिरहेका छन् । तर उपमहासचिव प्रदीप ज्ञवाली लगायत नेताले भने एकीकृत समाजवादीसँग तत्काल एकता गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । उपमहासचिव ज्ञवालीले एकिकृत समाजवादीसँंगको एकता सम्भव नभएको आशयसहित धारणा राख्नुभएको छ ।

उपमहासचिव ज्ञवालीले पार्टी विभाजनको औचित्य कुनै पनि ढंगले पुष्टि नहुने भन्दै गल्ती स्वीकार गर्नुपर्ने बताउनुभयो । एकीकृत समाजवादीलाई सरकारमा ल्याउन खोज्नु स्वभाविक भएपनि एकता गर्नु कार्यकर्ताको भावना विपरित हुने उहाँको भनाइ थियो ।

पछिल्लो समय एकीकृत समाजवादीसँग एकता गरी संसदको पहिलो दल बन्न सकिने भन्दै एमालेभित्र एकीकरणको बहस शुरु भएपनि नेताहरुको फरक विचार प्रकट भएको हो । यसैबीच, एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसंगको एकतामा विश्वास नगर्न आग्रह गर्नुभएको छ ।

सरकारलाई समर्थन गर्ने बिषयमा एकीकृत समाजवादीले आन्तरिक छलफल गरिरहेको छ । 


प्रतिक्रिया