देवराज घिमिरे : प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख

माघ ५, २०७९

पार्टीभित्र कुसल संगठकको छवि बनाएका एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरे सभामुख चयन हुनु भएको छ । झण्डै पाँच दशकदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय उहाँले प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख बन्ने अवसर प्राप्त गर्नु भएको हो । घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीको निकटतम् विश्वासपात्र मध्येका एक मानिनुहुन्छ । घिमिरेले छैठौं महाधिवेशनदेखि निरन्तर रुपमा विभिन्न कालखण्डमा ओलीलाई साथ दिदै आउनु भएको छ । झापा बिर्तामोड निवासी ६६ वर्षीय घिमिरे पार्टीभित्र इमानदार र निष्ठावान नेताका रुपमा चिनिनुहुन्छ । 

जिल्लाका पुराना कम्युनिष्ट नेता एवं संविधानसभा सदस्य मनकुमार गौतमले पार्टीका लागि निरन्तर काम गरेको तर, एकदमै थोरै अवसर पाउने नेताको रुपमा घिमिरे चिनिनुहुने बताउनुभयो । करिब ३० वर्षदेखि घिमिरे ओलीको साथमा रहनु भएको पनि उहाँले उल्लेख गनुृभयो । ओलीको हरेक द:ुख, अफ्ठ्यारामा घिमिरेले विना कुनै सर्त साथसहयोग गर्नुभएको पनि उहाँले उल्लेख गर्नुभयो । अहिले अध्यक्षज्यूले घिमिरेलाई सभामुख बनाएर ठूलो सम्मान गर्नु भएको महसुस भएको गौतमले उल्लेख गर्नुभयो । घिमिरे २०३३ सालमा विद्यार्थी पृष्ठभूमिबाट कम्युनिष्ट आन्दोलनमा जोडिनु भएको हो । २०३३ मा विद्यार्थी संगठनको जिम्मेवारीकै क्रममा उहाँ गाउँगाउँ पुगेर बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय हुनु भएको थियो । उहाँले २०३५ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी–माले (कोके) मार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएको थियो । 

२०१३ जेठ १३ गते ताप्लेजुङको सिकैंचामा जन्मिएका घिमिरेले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेबाट तेह्रथुम र पाँचथर जिल्लामा संगठन विस्तारको जिम्मेवारी समेत निर्वाह गर्नु भएको थियो । २०३९ देखि इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी र इलाममा पार्टी संगठन निर्माण तथा विस्तारमा प्रमुख भूमिका निर्वाह गरेका थिए । उनले पार्टी संगठन निर्माणमा इलाम जिल्लामा मात्र लगातार १० वर्ष समय बिताउनु भएको थियो । त्यसक्रममा उहाँविरुद्ध तत्कालीन पञ्चायती शासकबाट पटकपटक वारेन्ट जारी समेत भएको थियो । स्नातकसम्म अध्ययन गरेका घिमिरेले १२ वर्ष भूमिगत राजनीति गर्नु भएको थियो । त्यसक्रममा उहाँ पटकपटक हिरासतमा समेत बस्नु भएको थियो । 

पार्टीभित्र उहाँलाई कम बोल्ने, जिम्मेवारीमा निरन्तर लागिरहने र प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने नेताका रुपमा लिइन्छ । उहाँ २०४६ भदौंमा सिरहाको विष्णुपुरकट्टीमा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुनु भएको थियो । २०४९ मा सम्पन्न नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो । घिमिरेले २०५० देखि साविकको मेची अञ्चल इन्चार्जको जिम्मेवारी वहन गर्नु भएको थियो । मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा उहाँले निर्माण गरेको संगठनकै बलमा २०४८ को संसदीय चुनावमा एमालेका सबै उम्मेदवारहरु निर्वाचित भएका थिए । सो चुनावपछि पूर्वमा ‘मेची अञ्चलका चारै जिल्ला, लालकिल्ला’ भन्ने स्लोगन नै स्थापित हुन पुग्यो ।

घिमिरे २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । संसदीय अनुभवमा उहाँको त्यो पहिलो यात्रा थियो । त्यसपछि पनि घिमिरे पुन: पार्टी निर्माणमै फर्किनु भएको थियो । २०५८ मा पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभागको इन्चार्जको जिम्मेवारीमा रहेर काम गर्नु भयो । त्यसपछि लगातार इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संगठनलगायतका विभाग र संगठनको इन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु भएको थियो । वरिष्ठ अधिवक्ता लीला उदासीले पार्टीको कुशल संगठकको चिनारी बनाएका घिमिरेलेर् निर्विवाद र कुशलतापूर्वक सभामुखको जिम्मेवारी पनि सम्पन्न गर्ने ठूलो अवसर प्राप्त भएको उल्लेख गर्नुभयो । एमालेको नवौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष ओलीको सचिवालयको संयोजन गर्ने जिम्मेवारी समेत घिमिरेलाई नै दिइएको थियो । उहाँले सो जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गर्नुभयो । एमाले र माओवादी केन्द्रबीच वाम एकता भई नेकपा गठन भएपछि घिमिरेलाई प्रदेश १ को अध्यक्षको जिम्मेवारी प्राप्त भएको थियो ।

एमालेको दसौं महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ को इन्चार्जको भूमिकामा समेत हुनुहुन्छ । २०७८ माघ १२ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध चुनौती दिदै प्रदेश नं. १ बाट एक जनालाई विजयी गराउन तथा एक सीटमा बराबर मत प्राप्त गर्ने अवस्था निर्माण गर्न समेत घिमिरेले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँकै नेतृत्वमा गत स्थानीय तह र मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समेत गठबन्धनविरुद्ध एमाले प्रदेश नं. १ मा बलियो पार्टी बन्न सफल भएको थियो ।

मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार एवं पूर्व सहपाठी हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई पराजित गर्दै घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । निर्वाचनमा पूर्वमन्त्री एवं महान्यायधिवक्ता अग्नि खरेललाई उछिनेर झापा–२ को टिकट लिन सफल भएका घिमिरे चुनाव जित्दै अहिले सिंगो प्रतिनिधिसभाको नेतृत्व गर्ने भूमिकामा उदाउनु भएको छ । 


प्रतिक्रिया