राहदानी विभागमा आजदेखि अग्रिम अनलाइन आवेदनको व्यवस्था

माघ १६, २०७९

राहदानी विभागले आजदेखि लागु हुने गरि एक महिनाको अग्रिम अनलाइन आवेदनको व्यवस्था गरेको छ । विभागले हिजो एक सूचना प्रकाशित गर्दै दैनिक १ हजार ५ सयका दरले एक महिनाको अग्रिम अनलाइन आवेदनको योजना ल्याएको हो । विभागमा हालसम्म २ देखि ३ दिनको अग्रिम आवेदनको व्यवस्था रहेकोमा सेवालाई चुस्त बनाउन समय लम्ब्याएर एक महिनाको अग्रिम आवेदनको व्यवस्था गरिएको हो ।

अग्रिम आवेदन छोटो अवधि हुँदा सेवाग्राहीले विभागबाट सेवा लिन नपाएर झन्झट ब्यहोर्नु परेको गुनासो बढेको विभागको भनाइ छ । सेवाग्राहीको सोही समस्या सम्बोधन गर्न विभागले अग्रिम अनलाईन आवेदनको योजना ल्याएको विभागका महानिर्देशक डमरुबल्लभ पौडेलले बताउनुभयो । विभागका अनुसार प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फारम क्रमश खोल्दै जाने छ ।

अनलाईन फारम सकिन लागेको देखिएमा पुन: एक महिनाका लागि फारम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने विभागले जनाएको छ । सोमबार अग्रिम अनलाईन आवेदन दिनेले फागुन १५ गतेसम्म समय पाउने विभागको भनाइ छ ।


प्रतिक्रिया