देश र जनताका निम्ति प्राण त्याग गर्ने व्यक्ति सधैं अमर : प्रधानमन्त्री दाहाल

माघ १६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताका निम्ति प्राण त्याग गर्ने व्यक्ति सधैं अजर अमर हुने बताउनुभएको छ । शहिद दिवसका अवसरमा काठमाडौंको लैनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सहिदको सम्मानका लागि देश विकासको संकल्प गर्न आग्रह गर्नुभयो ।

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदको सम्झनामा आज सहिद दिवस मनाइएको छ । जहानीयाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जिवनको आहुती गरेका सपूतहरुको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । 

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाको योगदानमा सहिद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका सहिदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह’ मनाइँदै आएको छ । 


प्रतिक्रिया