राष्ट्रपति निर्वाचन : कसको मतभार कति ?

माघ १६, २०७९ | काठमाडौं

दलहरुको तीब्र दवावका बीचमा निर्वाचन आयोगले अन्तत: राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन सम्बन्धी ऐन २०७४ अनुसार यही माघ २८ गतेभित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने भएपनि आयोगले राष्ट्रपतिको पदावधि सकिनु तीन दिन अघि अर्थात फागुन २५ गते निर्वाचनको मिति तय गरेको हो । निर्वाचनको मिति तय भएसंगै दलहरुमा अंकगणित सुरु भएको छ ।

संविधान र निर्वाचन कानून बाझिएको भन्दै अन्योलमा परेको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका ढिलोगरि सार्वजनिक गरेको हो । कानुनत: दुबै पदको कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन सम्पन्न भइसक्नुपर्ने थियो । गोप्य मतदान हुने भएकाले मुख्यगरि संयीय संसदमा रहेका प्रमुख दलहरुले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा आफ्नो पक्षमा मत बटुल्न गृहकार्य सुरु गरिसकेका छन् । सात दलीय गठबन्धनको एमालेले राष्ट्रपतिमा मुख्य दावी गर्दै सत्तारुढ भित्रैको माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता औल्याएको छ । भने, प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो बलियो उपस्थितीकालागि रणनीति तय गरिरहेको छ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३ सय ३४ सदस्य छन् । त्यसमा अहिले प्रतिनिधिसभा दुई र राष्ट्रीय सभामा एक सिट रिक्त छ । कांग्रेसका सांसद टेक बहादुर गुरुङ निलम्बनमा परेका छन् भने, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नागरिकता खारेजीमा पर्दा सांसद पनि खारेजी भएको छ । राष्ट्रीय सभाका खिमलाल भट्टराईले राजिनामा दिदा एक सिट रिक्त छ । राष्ट्रिय सभाको रिक्त पदका लागि माघ २५ गते मतदान हुँदैछ ।

त्यस्तै, ७ वटै प्रदेशमा गरी कुल ५ सय ५० प्रदेशसभा सदस्य छन् । संघीय संसद र प्रदेशको कुल ८ सय ८१ मतदाता रहने छन् । धारा ६२ मै रहेको थप व्यवस्था अनुसार संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुन बमोजिम फरक हुने व्यवस्था छ । गत असोज २२ मा संसद्बाट पारित र असोज २७ मा राष्ट्रपतिबाट प्रमाणित भएको ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमश: ७९ र ४८ तोकिएको छ । संघीय संसद्का कुल ३ सय ३३ सदस्यको कुल मतभार (प्रति सदस्य ७९ का दरले) २६ हजार ३०७ हुन आउँछ । त्यस्तै, प्रदेशसभाका कुल ५ सय ५० सदस्यको कुल मतभार (प्रति सदस्य ४८ का दरले) २६ हजार ४ सय हुन आउँछ । यसरी राष्ट्रपति (उपराष्ट्रपतिको पनि) निर्वाचनमा कुल मत ५२ हजार ७०७ हुन आउँछ ।

कुल मतको ५० प्रतिशत २६ हजार ३५३ दशमलव ५ हुन आउँछ । कम्तीमा त्यो संख्या कटाउन सक्ने उम्मेदवार विजयी हुनेछन् । निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारहरुमध्ये कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा बढी मत ल्याउने दुई जनाका लागि पुन: मतदान हुने छ । पुन: भएको मतदानमा पनि दुबै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत नपाएमा पुन: मतदान गरिन्छ । त्यसपछि भने सदर मतको बहुमत ल्याउने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

संघीय संसद् र प्रदेश संसद्मा गरी १४ दलको प्रतिनिधित्व छ । त्यस्तै, थप स्वतन्त्र सांसद र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गरिएका सांसद पनि यसमा सहभागि हुने छन् । संसदको प्रमुख दल नेपाली कांग्रेसको संघीय सदनमा ९८ सांसद छन् । प्रतिनिधिसभामा ८८ र राष्ट्रीय सभामा १० सांसद सहित कांग्रेस ठुलो दलका रुपमा रहेको छ । कांग्रेसको सात प्रदेश सभामा १७६ सांसद छन् । कांग्रेससँग मात्रै १६ हजार २६९ मतभार छ । संसदको दोस्रो ठुलो दल एमालेसँग १५ हजार १५४, माओवादी केन्द्रसँग ७ हजार ६४९, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५८०, राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार १४५ मतभार छ ।

त्यस्तै, एकीकृत समाजवादीसँग २ हजार ५७४, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मतभार छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी सांसदहरुको संख्या १८ छ । उनीहरुसँग कुल १ हजार ५० मतभार हुन्छ । राष्ट्रपतिको निर्वाचनसम्म राजनीतिमा कुनै परिवर्तन नआए अहिलेको सात दलीय गठबन्धनले नै राष्ट्रपति जित्ते सम्भावना कायमै छ । अहिलेको संसदीय अंक गणित हेर्दा माओवादी केन्द्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा निर्णायक बन्ने देखिएको छ । 


प्रतिक्रिया