माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

माघ १७, २०७९

पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक विहान ११ बजे बस्न लागेको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीको संगठन विस्तार, गृहमन्त्री चयन, राष्ट्रपति लगायत पदको विषयमा पनि छलफल हुने पौडेलले जानकारी दिनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयका कारण गृहमन्त्री पद खोसिएसँगै, माओवादीभित्र गृहमन्त्रीमा आफूहरुको दाबी हुनुपर्ने आवाज चुलिएको छ । लामिछानेको पद खारेज भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय आफू मातहत राख्नु भएको छ । उता राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री पद नपाए सरकारबाट बाहिरिने चेतावनी दिएसँगै दाहाललाई सत्ता गठबन्धन र पार्टीका नेताबीच सन्तुलन कायम गर्न सकस परेको छ ।

यस्तै राष्ट्रपतिको उम्मेदवार चयनबारे पनि आजको बैठकमा छलफल हुने नेता पौडेलले जानकारी दिनुभयो । नेपाली काँगेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएसँगै राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने मनस्थितिमा प्रधानमन्त्री दाहाल रहेपनि एमाले त्यसमा तयार नहुँदा सो विषय पनि थप पेचिलो बनेको छ । 


प्रतिक्रिया