क्यानको बोर्ड बैठक आज पोखरामा बस्दै

माघ १७, २०७९

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज पोखरामा बस्दैछ । क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक बस्न लागेको हो । टि २० लिग प्रकरण र जारी विवादका कारण क्यानको आगामी निर्वाचन निर्धारित समयभन्दा ४ महिना अघि हुने सम्भावना देखिएको छ । बैठकमा क्यानको साधारणसभासहित १७ बुँदामा छलफल हुँदै छ ।

हालै सम्पन्न नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिंग विषयमा गभर्निङ काउन्सिलको प्रतिवेदन र यसबारे बैठकमा छलफल हुने जनाइएको छ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल र स्ट्रेजेटिक पार्टनर बनाउदै क्यानले नेपाल टी–२० लिग आयोजना गरेको थियो  । नेपाल टी–२० लिगको खर्च विवरण एजेन्डामा राखिएको छ । नेपाली टी–२० लिगको विविध विवादपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र राष्ट्रिय खेलकुद परिषद् राखेपले छानबिन समिति नै बनाएको छ । सीआईबीबाट प्राप्त जानकारी र राखेपको छानबिन समितिको प्रतिवेदनबाट प्राप्त निर्देशनका बारेमा बोर्ड बैठकमा छलफल हुनेछ ।

निर्धारित तालिकाअनुसार असोजमा चतुरबहादुर चन्द नेतृत्वको क्यानले चारवर्षे कार्यकाल पूरा गर्दै छ । त्यसभन्दा तीन महिनाअगाडि नै साधारणसभा बोलाएर क्यान नेतृत्व ‘अर्ली इलेक्सन’ को तयारीमा देखिन्छ  । त्यस्तै राष्ट्रिय पुरुष तथा महिला खेलाडीको करारका सम्बन्धमा पनि बैठकले निर्णय गर्नेछ ।

पूर्वकप्तान सन्दीप लामिछानेमाथि क्यानले लगाएको निलम्बन फुकुवासम्बन्धी पनि बोर्ड बैठकको एजेन्डा बनाइएको छ । बलात्कारको आरोपमा अदालतबाट सफाइ नपाएका सन्दिपलाई निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीमा फर्काउने हतारो गरिरहेको सन्दर्भमा बोर्ड बैठकमा छलफल हुनेछ । 


प्रतिक्रिया