राष्ट्रिय सभाको उप-निर्वाचनमा कुन उम्मेदवारको मतभार कति ?

माघ १८, २०७९

राष्ट्रियसभामा लुृम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यमध्ये रिक्त रहेको १ पद पुर्तिका लागि हुने उप–निर्वाचनमा सत्ता गठबन्धनका २ सहित ३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । आगामी बुधबार लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा हुने उप निर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी र नागरिक उन्मुक्तिबाट राजेन्द्रविर राय तथा कंग्रेसबाट माधव प्रसाद आचार्य प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा उत्रिएका ३ वटै उम्मेदवारले आफ्नो पक्षमा मत तान्न कसरत गरिरहेका छन् ।

उप–निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरि ३ सय ५ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टा–छुट्टै गणना हुन्छ । स्थानीय तहका मतदाताको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

प्रदेश र स्थानीय तहमा गरेर कंग्रेसको मतभार २ हजार ९ सय ५२ छ । एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५ सय ९८ मतभार छ । प्रदेश र स्थानीय तहतर्फ गरी माओवादीसँग कूल १ हजार १ सय ६६ मतभार छ । त्यस्तै, राप्रपाको मतभार २ सय ४६, जनता समाजवादी पार्टी (जसपा)को २ सय ५२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को २ सय १६, नागरिक उन्मुक्ति पार्टीको १ सय ९२, जनमत पार्टीको १ सय ४४, राष्ट्रिय जनमोर्चाको १ सय २०, एकीकृत समाजवादीको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मतभार ९६ छ ।

मतभारको आधारमा सत्तारुढ गठबन्धनबाट एमालेका उम्मेदवार दशौदीको संभावना बलियो देखिएको छ ।  


प्रतिक्रिया