गणतन्त्रविरुद्ध अभिव्यक्ति नदिन मन्त्रीहरुलाई सत्तारुढ दलका सांसदहरुको आग्रह

माघ १८, २०७९

सत्तारुढ दलका सांसदहरुले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति नदिन सरकारका मन्त्रीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीले धर्म निरपेक्षता र संघीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला असन्तुष्टी जनाउँदै सांसदहरुले संविधान विपरित नबोल्न ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले संविधानको आधारभूत संरचनाहरुकै बारेमा प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझिनु लोकतन्त्रका लागि राम्रो लक्षण नभएको बताउनुभयो । संविधानअनुसार सपथ लिएका मन्त्रीहरुले व्यवस्थामाथि प्रश्न उठाउनु गलत भएको सांसद पन्तले बताउनुभयो ।

एमाले सांसद पन्तको भनाइमा सहमत जनाएका माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्यभन्दा बाहिर गएर टिप्पणी गर्न नहुने बताउनुभयो । संघीयतालाई काठमाडौंबाट हेरेर मात्र मूल्याङ्कन गर्न नहुने बस्नेतको भनाई छ ।

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले मन्त्री पदको दुरुपयोग गरेर संघीयता र गणतन्त्रविरुद्ध बोल्न नहुने बताउनुभयो । संघीयता र गणतन्त्र कसैको आशिर्वादबाट नआएको यादवले उल्लेख गर्नुभयो ।

यता, सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध बोल्न संविधानले समेत रोक्न नसक्ने बताएको छ । पार्टीको एजेन्डालाई जनताले मत दिएको भन्दै बैठकमा राप्रपाका सांसद धवलशमशेर जबराले आफूहरुलाई नहेप्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा चितवन दुईबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको पद खारेज भएको जानकारी सभामुख देवराज घिमिरेले गराउनुभएको थियो । 


प्रतिक्रिया