अन्तर्राष्ट्रिय संसदको बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
मंसिर ८, २०८१ | काठमाडौं
सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपीटीपी) को एघारौँ बैठकमा सहभागी हुन कम्बोडिया पुग्नु भएको छ ।
राजधानी नोम पेन्हमा आगामी ११ गतेसम्म आयोजना हुने आइपीटीपीको बैठकमा सहभागी हुन सभामुख घिमिरे पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया जानु भएको हो ।
उहाँलाई नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको संसद्का उच्च अधिकारीले स्वागत गरेको सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।
भ्रमण टोलीमा प्रतिनिधि सभा सदस्य ईश्वरबहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद् सचिवालयका उपसचिव गोपाल सिग्देल छन् ।
शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद् र नागरिक समाजबीचको समन्वय एवं सहअस्तित्व र समावेशी सम्बन्धका लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा आइपीटीपीमा छलफल हुने जनाएको छ ।
सभामुख घिमिरेले बैठकमा नेपालको संसद्का तर्फबाट सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । भ्रमणका अवसरमा सभामुखले कम्बोडिया, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, भियतनाम र लाओसका प्रतिनिधिमण्डलसँग भेटवार्ता हुने कार्यक्रम समेत रहेको छ । सभामुख नेतृत्वको प्रतिनिधिमण्डल मंसिर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।