स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान हुँदै

मंसिर १६, २०८१ | काठमाडौं

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत विभिन्न ४१ पदका लागि अहिले मतदान भईरहेको छ । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ । 

उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्र समेत गरी ३ सय ७६ जना उम्मेदवार छन् । आयोगका अनुसार उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् । मतदाताले आफ्नो परिचयपत्र देखाएर साँझ ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । 

मतदाता परिचय पत्र नरहे परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी चालक परिचय पत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचय पत्रका आधारमा मतदान गर्न मिल्ने आयोगको भनाइ छ । यस पटक मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छैन ।

आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदातालाई आफ्नो नाम रहेको मतदान केन्द्रमा उपस्थित भएर निर्धक्कका साथ मतदान गर्न आह्वान गरेको छ । 

उपनिर्वाचन हुने स्थान वरपर नेपाली सेनाले गस्ती समेत गरिरहेको छ । यद्यपि, मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य गरेको पाइए कारबाही गर्न सम्बन्धित निकायलाई आयोगले निर्देशन दिएको छ । 

यसैबीच २०७९ को निर्वाचनपछि ४४ पद रिक्त भएकोमा ओखलढुंगामा जिल्ला समन्वय समितिमा टेकराज भट्टराई र कैलालीमा टीकाकुमारी चौधरी तथा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भईसक्नु भएको छ । 


प्रतिक्रिया