बुटवल–नारायणगढ सडकः ७ वर्षमा ७० प्रतिशत प्रगती

श्रावण ३, २०८२ | काठमाडौं

बुटवल–नारायणगढ सडकको स्तरोन्नतिका लागि काम सुरु भएको ७ वर्षमा पनि बल्ल ७० प्रतिशतमात्रै काम भएको छ । निर्माण कम्पनीले समयमा काम नगर्दा सडकमा यात्रुले सास्ती बेहोर्न बाध्य छन् । तेस्रो पटक थपिएको समयावधिमा पनि काम नसकिएपछि सरकारले चौथोपटक म्याद थप्ने तयारी गरेको छ । 

आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार आउँदो बुधवार सडक स्तरोन्नतिको समय अवधि एक वर्ष थप गर्नका लागि सम्झौता हुँदैछ । सडक विभाग र चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनबीच मन्त्रालयमा लिखित सम्झौता गरेर ०८३ साल साउनसम्मको म्याद थपिने भएको हो । 

चिनियाँ ठेकेदारले भने आउँदो माघ सम्मको म्याद पाउनुपर्ने अडान राखेको छ । बुटवल–नारायणगढ सडक खण्डको १ सय १३ किलोमिटर सडक विस्तारको काम थालेको चिनियाँ ठेकेदार कम्पनीले हिजोसम्म ७० प्रतिशत मात्र काम सम्पन्न गरेको आयोजनालाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । 

बुटवल नारायणगढ सडक अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्कीवास बीचमा पर्ने ११ किलोमिटर दाउन्ने सडकको यात्रा निकै कष्टकर हुने गरेको छ ।सामान्य वर्षा हुनासाथ सो क्षेत्रमा लामो समयसम्म जाम हुने अवस्था उस्तै छ । 


प्रतिक्रिया