कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित
कार्तिक १६, २०८२ | काठमाडौं
महाधिवेशन आयोजनाको विषयलाई लिएर विवाद बढिरहँदा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ ।
आजका लागि बोलाइएको बैठक बस्न नसकेपछि पर्सी मंगलवारका लागि डाकिएको छ । महाधिवेशन गर्ने बिषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति हुन नसक्दा कंग्रेसभित्र विवाद बढेको हो । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले विशेष वा नियमित महाधिवेशनका लागि दवाव बढाइरहेका छन् ।
पदाधिकारी तहमा सहमति हुन नसकेपछि केन्द्रिय कार्यसमिति बैठक प्रभावित हुँदै आएको छ । यसैबीच, कंग्रेसका युवा विद्यार्थीले नियमित महाधिवेशनको माग गर्दै ललितपुरको सानेपास्थित पार्टी कार्यालयको मुख्य गेटमा तालावन्दी गरेका छन् ।
तत्काल नियमित महाधिवेशनको मिति तोक्नुपर्ने भन्दै उनीहरुले केहीबेर नारावाजी समेत गरेका थिए । कंग्रेस नेताहरुका अनुसार महाधिवेशन आयोजनाको बिषयमा मध्यमार्गी विकल्पमा सहमतिको खोजी भइरहेको छ ।











