बञ्चरेडाँडाको विवाद हट्यो, सहमति कार्यान्वयन गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

कार्तिक १६, २०८२ | काठमाडौं

धादिङको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहरमैला व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटेको छ ।

 ल्याण्डफिल्ड साइटका कारण परेको समस्या समाधान गर्ने सरकारी प्रतिबद्धतासँगै स्थानीयले अवरोध हटाएका हुन् । पाँच दिन देखि फोहर व्यवस्थापनमा अवरोध भएपछि सहरी विकासमन्त्री कुलमान घिसिङ सहितको टोली आज स्थानीयसँग छलफलका लागि बञ्चरेडांडा ल्याण्डफिल साइट गएको थियो । सरकार र स्थानीयबीच २०७८ सालमा भएको सहमती कार्यान्वयनका लागि १५ दिनभित्र प्रक्रिया सुरु गर्ने सहमती भएको छ । यसअघि भएका सहमति कार्यान्वयनको पक्षमा आफू प्रतिबद्ध भएर लाग्ने मन्त्री घिसिङले बताउनुभयो ।

फाहोर व्यवस्थापन प्र्रभावकारी रुपमा गर्न नसक्दा समस्या भएको भन्दै सो क्षेत्रका स्थानीयले यसअघि पनि विरोध जनाउँदै आएका छन् । ल्याण्डफिल्ड साइट क्षेत्रमा देखिएको समस्या समाधान गरेर दैनिक फोहोर व्यवस्थापनको काम प्रभावकारी बनाइने मन्त्री घिसिङले बताउनुभयो ।

वार्ता टोलीमा मन्त्री घिसिङ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सरोज गुरागाईं, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, महानगरकी वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राई सहभागी हुनुहुन्थ्यो । प्रभावितका तर्फबाट धुनिबेसी नगरपालिका, ककनी गाउंपालिका र बेलकोटगढी नगरपालिकाका जनप्रतिनिधि र स्थानीय आन्दोलनरत पक्ष सहभागी रहेको महानगरकी वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । गत बुधबारबाट फोहोर उठ्न नसकेपछि राजधानी लगायत १८ स्थानीय तहको फोहोर सडकमै थुप्रिन थालेको छ ।  


प्रतिक्रिया