एमाले महाधिवेशन : आकांक्षी बढेपछि विधान संसोधन गर्ने तयारीप्रति इतर पक्ष रुष्ट
मंसिर २३, २०८२ | काठमाडौं
एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा पदाधिकारीका लागि आंकाक्षी बढेको भन्दै पार्टीको विधान संसोधन गर्ने तयारी गरेपछि संस्थापन इतर पक्षले असन्तुष्टि जनाएका छन् । गत भदौ तेस्रो साता पारित गरिएको विधानलाई तीन महिनाभित्रै आफू अनुकूल हुने गरी फेरि संशोधन गर्ने तयारी ओलीले गर्नुभएको हो । विधान संशोधन गरी सांगठनिक संरचनामा परिवर्तन गर्ने तयारी भएपछि वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पक्षधर नेताले आपत्ति जनाएका छन् ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले नै विधान संसोधन गर्न नमिल्ने बताउनुभयो । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले महाधिवेशनका लागि प्रतिनिधि छनोट भइसकेकाले विधानमा हेरफेर गर्न नमिल्ने बताउनुभयो । महाधिवेशनमा पदाधिकारीका लागि झन्डै ४० जना आकांक्षी भएपछि पदाधिकारी संख्या १५ बाट बढाएर १९ पु¥याउने तयारी भएको छ ।
विधान महाधिवेशनले पार्टीको सांगठनिक संरचनामा हेरफेर गर्दै वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने तथा पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउने निर्णय गरेको थियो ।
तर अहिले अध्यक्ष ओलीले विधान संसोधन गर्न खोजेको भन्दै नेताहरुले आपत्ति जनाएका छन् । पोलिट्व्युरो सदस्य ठाकुर गैरेले विधानमा अहिले संसोधन गर्न नमिल्ने बताउनुभयो । रेडियो कान्तिपुरसँग कुरा गर्दै उहाँले विधान महाधिवेशनको निर्णय फेरबदल गर्नु पार्टीको हितमा नहुने बताउनुभयो ।
यसैबीच, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष ओलीको कार्यशैलीमा सुधार नहुने भन्दै नेतृत्व परिवर्तनको मुद्दा आफूहरुले उठाएको बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शाक्यले पटक पटक आग्रह गर्दा पनि ओलीको व्यवहार नसच्चिएको टिप्पणी गर्नुभयो ।
अर्को प्रसंगमा एमाले उपाध्यक्ष शाक्यले महिलाप्रति अध्यक्ष ओलीको गलत सोच रहेको आरोप लगाउनुभएको छ । पूर्व राष्ट्रपति विद्या भण्डारीको सन्दर्भमा हालैको एक अन्तवार्तामा ओलीले प्रयोग गरेको शव्दावलीप्रति उहाँले आपत्ति जनाउनुभयो ।कार्यक्रममा बोल्दै एमालेकी नेतृ बिन्दा पाण्डेले ओली विनाको एमाले कल्पना गर्न नसकिने भन्दै चलाइएको बहसप्रति आपत्ति जनाउनुभयो । अराजनीतिक नारा बनाइएको उहाँको भनाइ थियो । एमालेको ११ औं महाधिवेशन आगामी शनिवार काठमाडौंमा शुरु हुँदैछ ।







.jpg&w=300&height=200)



