बिहान ६ बजेबाट लागेको आगो ९ घण्टा पछि निभाइयो

पुस ५, २०७४ | वीरगन्ज

 -  वीरगन्जको सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगो करीब ९ घण्टापछि निभाइएको छ । आगो निभाउने क्रममा अग्नीनियन्त्रक मधुसुदन मिश्र र यादवप्रसाद अधिकारीको मृत्यु भएको छ भने दमकल चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीव कुमार नेपाल घाइते भएका छन् ।

उनीको काठमाडौंमा उपचार भईरहेको छ । सम्पर्कबिहीन २ जना अग्नीनियन्त्रकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । वीरगन्ज महानगरपालिका २२ मा रहेको सो ग्यास उद्योगमा बिहान करीब ६ बजेबाट आगलागी सुरु भएको थियो ।

अपराह्न ३ बजेतिर पूर्णरुपमा नियन्त्रणमा आएको आगो निभाउन सुरक्षाकर्मी र स्थानीय एस्टिङ्गुइसर र भिजेको बोरा लिएर दिउँसो एक बजेमात्र उद्योगमा प्रवेश गर्न सफल भएका थिए । स्थानीय केनालाल राउतकाअनुसार आगो बल्न कम भएपछि ग्यास लिक भएको पाइपसम्म पुगेका सुरक्षाकर्मी र स्थानीयले एस्टिङ्गुइसर स्प्रे गरेर आगो निभाएका थिए । लगत्तै भिजेको बोराले लिक भएको पाइप छोपेर लिक भएको ग्यास बन्द गरेका थिए । 

प्रारम्भिक अनुसन्धानमा आगलागी बुलेटबाट ग्यास लिक भएर बिहान ६ बजे सुरु भएको देखिएको पर्साका एसपी गणेश रेग्मीले बताउनुभयो । ग्यास उद्योगमा लागेको आगो निभाउने प्रविधि नभएपछि लामो समयपछि आफैं कम भएको प्रहरी भनाई छ । 


प्रतिक्रिया