कालो दिवसमा मन्त्री समेतको सहभागिता

आश्विन ३, २०७५ | जनकपुर

मुलुकका सात मध्ये ६ प्रदेशमा धूमधामका साथ संविधान दिवस मनाइए पनि प्रदेश  २ को अस्थायी राजधानी जनकपुरधाममा भने मन्त्री समेतको सहभागितामा कालो दिवस मनाइएको छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले मन्त्रीहरुलाई प्रदेश २ का आठवटै जिल्लामा खटाएका थिए ।

धनुषामा खटाइएका सामाजिक विकास मन्त्री नवलकिशोर साहको नेतृत्वमा अपराह्न अढाई बजे जनकचोकबाट निस्केको विरोध जुलुस नगर परिक्रमा गरी जनकचोकमा आई कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै मन्त्री साहले मुलुकको संविधान अपूर्ण रहेकोले संशोधन नभए सम्म कालो दिवस मनाई रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानमा मधेसी, आदिवासी जनजाति, महिला, मुस्लीम तथा सीमान्तीकृत जातजातिसंग विभेद गरिएको छ । संवैधानिक विभेद रहिरहेसम्म कालो दिवस मनाई रहने छौं ।’

राजपा नेपालका वरीष्ट केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले जापानको नाकासाकी र हिरोसीमामा परमाणु बम खसालिएको दिनलाई कालो दिवस मनाईने गरेको जस्तै असोज ३ गते मधेसीका लागि सधैभरि कालो दिन रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आसिन ३ गते मधेशीको रगत पोखिएको दिन हो । संविधान संशोधन भए पनि, यो दिन सधैंभरि कालो दिन नै रहने छ ।’

उहाँले संविधान संशोधन मार्फत नागरिकता, जनसंख्याको आधारमा प्रतिनिधित्व, भाषा, पहिचान तथा सिमांकन लगायतका विषय अविलम्ब सम्बोधन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी संविधानलाई मानेर निर्वाचनमा गएका होईन, संघीय र प्रादेशिक संसद मार्फत मधेशीको मांग संवोधन गराउन निर्वाचनमा गएका हौं । संविधान संशोधन नभए सम्म संसद र सडकमा आन्दोलन जारी रहन्छ ।’

विरोध सभालाई प्रदेशसभा सदस्य एवं प्रदेश २ मा राजपा नेपालका प्रमुख सचेतक प्रमेश्वर साह, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीतादेवी झा, हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा लगायतका वक्ताले सम्बोधन गरेका थिए । 

कालो दिवसमा राष्ट्रिय जनता पार्टी नेपालसम्बद्ध मन्त्री, नेता तथा कार्यकर्ताहरुको सहभागिता देखिए पनि अर्का सत्तासाझेदार संघीय समाजवादी फोरमका नेताहरु देखिएनन् ।

यता डा.बाबूराम नेतृत्वको नयाँशक्ति नेपाल सम्बद्ध नेता कार्यकर्ताहरुले विरोध प्रदेश गरेका थिए भने स्थानीय युवा क्लबहरुको छाता संगठन संयुक्त मधेस संघर्ष समिति तथा मधेस अधिकार संघर्ष समिति (मास) सम्बद्ध युवा युवतीहरुले पनि विरोध कार्यक्रमको आयोजन गरेका थिए ।

यसैगरी बद्रीनारायण ठाकुरको नेतृत्वमा नवगठित इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले पनि कालो दिवसमा ऐक्यवद्धता जनाएको थियो । 


प्रतिक्रिया