मिथिलानगरीमा जितियाको रौनक

आश्विन १६, २०७५ | जनकपुर

– मिथिलाञ्चलमा विकटतम् पर्वको संज्ञा दिईएको जितिया पर्व आज जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा धूमधामसंग मनाईदै छ । हिजो सोमवार नहाय खायसंगै सुरु भएको यस पर्वको दोश्रो दिन व्रतालुहरु गंगासागर, धनुषसागर, विहारकुण्ड लगायतका पवित्र जलाशयहरुमा स्नान गरी भगवान जिमुतवाहनको कथा सुनेका छन् । भोली अर्थात बुधवार विहान यो पर्व सम्पन्न हुनेछ । 

व्रत अवधिमा दाँतले सिन्कोसम्म टोक्न नहुने , थूकसम्म निल्न नहुने , हंसियाले तरकारीसम्म काट्न नहुने यस विकटम् पर्वमा प्रयोग हुने पूजा सामग्रीहरु सक्दो बालबालिकाको पहुँचबाट टाढा राख्ने चलन छ । व्रतालु संगीता देवी पूजा सामग्रीहरुलाई चोखो राख्न बालबालिकाबाट टाढा राख्ने गरिएको बताउँछिन् ।   

पूत्रप्राप्ति, पुत्रको दीर्घायु संगै पारिवारिक सुख शान्तिको कामनाका साथ प्रत्येक वर्ष आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमी तिथिसम्म यस पर्वको आयोजन हुन्छ । व्रतालुहरु अष्टमीको दिन उपवास बसे पनि पर्वको आरम्भ भने सप्तमी तिथिदेखि नै सुरु हुन्छ । नवमी तिथिमा पार्वण (अन्नजल ग्रहण ) गर्ने चलन छ । 

सोमवार पवित्र स्नान पश्चात माछ–मरुवा अर्थात माछा र कोदोको रोटी खाने चलन छ । व्रतको पहिलो दिनलाई स्थानीय भाषामा माछ–मरुवा पनि भनिन्छ । अन्य पर्वहरुमा माछा,मासु,लसुन,प्याजसमेत नखाने व्रतालुहरु यस पर्वमा भने माछा,मासु तथा कोदोको रोटी खान्छन् ।

पण्डित दिगम्बर झा दिनमणि शास्त्रमा ब्रतीहरुले माछ–मरुवा खानै पर्ने प्रावधान नरहे पनि चलनमा यस्तो हुँदै आएको बताउँछन् । माछा,मासु,लसुन,प्याज लगायतका गरीष्ट भोजन गर्दा वान्ता हुने वा अन्य समस्या उत्पन्न हुन सक्ने भएर अचेल अधिकांश व्रतालुहरुले माछा खान छाडेको पण्डित झाको कथन छ ।

पर्वको दोश्रो दिन मंगलवार गंगासागरमा व्रतालुहरुको ठुलै घुईंचो लागेको थियो । राती अढाई बजेपछि निराहार व्रतमा बसेका व्रतालुहरुले अपरान्ह गंगासागरमा पवित्र स्नान गरी भगवान जिमुतवाहनको कथा सने । समूह समूहमा विभाजित महिलाहरुमध्ये कोही आफैं कथा वाचन गर्दै थिए भने कहि पण्डित पुरोहितहरु कथा वाचन गर्दै थिए ।

विगत २५ वर्षदेखि जितिया पर्व मान्दै आएकी जनकपुर १ की व्रतालु राजो देवीले भनिन् – ‘ व्रतालुहरु एउटै थलोमा भेला भए पछि , रामाइलो पनि हुन्छ । अनि सामुहिक रुपमा कथा पनि सुन्न पाईन्छ ।’ 

पण्डित दिनमणिका अनुसार – यस वर्ष सोमवार राती अढाई बजेपछि अष्टमी सुरु भएको छ । उनले व्रतालुहरुलाई राती २ बजेसम्म ओटगन गरी सक्न सल्लाह दिएका थिए । ओटगनमा व्रतालुहरु भगवान जितवाहन संगै अ–आफ्ना दिवंगत महिला पितृहरुलाई पकवान्न, कांक्रो, अक्षत, अंकुरी(केराउ) आदि नैवेद्य चढाउछन् । नैवेद्य घिरौला वा झिमनीको पातमा चढाउने परम्परा छ । नैवेद्य चढाए पश्च्यात् व्रतालुहरु चुरा, दही, अमोट(आपको रसबाट तयार पार्ने परिकार)आदि खाएर दैलोमा अडेस लगाएर बस्छन र विशेष मन्त्रको जाप गर्छन । ओङठन गरेर दैलोमा अडेस लगाएर बस्दा दाजु भाईको आयु बढ्ने विश्वास छ ।

जितिया व्रत बस्दा पूत्र प्राप्त हुने तथा पूत्रको आयु बढने विश्वास छ । भविष्य पुरानमा वर्णन भए अनुसार – विधि पूर्वक जिमुतवान(जितीया) व्रत बसेकी चिल्हो रानी ( चिल्ह चरी ) ले अर्को जुनीमा सात वटा पूत्र पाएकी तथा व्रत भंग गर्ने सियाल रानी(सियाल)ले जन्माएकी सातवटै पूत्रको मृत्यु भएको उल्लेख छ ।

कुनै ठुलो दुर्घटनाबाट जोगिएका पुरुषलाई हेर्ने बितिकै यहाँ भन्ने गरीन्छ – तोहर माय खडजितीया केने रहौक जे बाँचि गेले । अर्थात् तिम्रो आमा जितिया व्रत बसेकी थिईन र तिमी जोगियौ । 


प्रतिक्रिया