२० क्वीन्टल मरिच खोई ?

आश्विन ३१, २०७५ | बारा

तीन दिन अघि सर्लाही परवानीपुर–१ का चन्द्रबहादुर थापाले गत आइतबार कलैयाबाट ना ४ च २२६१ नम्बरको पिकअप भ्यान लिएर वीरगञ्ज गए । ५ हजार भाडामा मरिच बोक्न गएको पिकअपमा सिम्रौनगढका ‘सुभाष’ भन्ने व्यापारीको नाममा वीरगञ्जको स्वीमिङ पुल आसपासको एक गोदामबाट २० क्वीन्टल कालो मरिच लोड गरे ।

दिनको साढे २ बजे उनले मरिच बोकेर पिकअप लिएर हिँडे । कलैया हुँदै सिम्रौनगढ बजारसम्म पुग्नुपर्ने भएकोले सहरको मुर्ली चोक नपुग्दै हुन्डाई सो रुम नजिक मोटरसाइकलमा आएका दुई जनाले पिकअप रोक्न लगाए ।

‘क्राइम ब्रान्च’ को प्रहरी हुँ भन्दै दुबैले चालक थापासित पिकअपको साँचो, मरिचको भ्याट बिल, ५ हजार नगद, ब्लुबुक खोस्यो र थापालाई बाइकमा बसाएर ५/६ किमी पश्चिममा पर्ने ड्राइपोर्ट तर्फ लग्यो । पिकअप त्यही मुर्ली चोकमै छाडे । ड्राइपोर्टको व्यस्त रोड छेउमा थापालाई लगेर केही बेर राखे । र एकैछिनमा गाडी लिएर छिटो भाग, नभए खतरा हुन्छ भन्दै ड्राइपोर्ट पुर्‍याइएका पिकअप पार्किङ गरिएको रहेछ । 

दुबैले चालक थापालाई पिकअप देखाए । पिकअपमा लोड गरिएको मरिच थिएन । मरिच गायव गरेर पिकअप मात्र पार्किङ गरिएको थियो । पिकअपको साँचो पिकअपमै थियो ।

चालक थापालाई नियन्त्रणमा लिएर अर्कैले गाडी चलाएर मरिच गायब गरेको रहेछ । मरिच गायव गर्ने दुबैले पिकअप भ्यान देखाएपछि चालक थापा डरले खाली पिकअप रित्तोहात सोझै पिकअप धनीको कलैयास्थित घरमा लिएर आइपुगे । र सबै घटना पिकअप धनीलाई सुनाए । 

घटनाबारे पिकअप धनीले सबै विवरण सुनेर व्यापारी सुभाषलाई फोन गरे । र उनीसहित १० जना घटनास्थलल तर्फ वीरगञ्ज लागे । पर्सा जिल्ला प्रहरी कार्यालय वीरगञ्जमा पुगे । एसपी रेवती ढकाल र क्राइम ब्रान्चको इन्सेक्टरलाई भेटे ।

प्रहरीले त्यही बेला चालक थापालाई नियन्त्रण लियो । दुई दिन हिरासतमा राखेर तेस्रो दिन ३० असोजमा उनका आफन्तलाई बोलाएर बुझ्न लगाई छाड्यो । मरिच अझै गायव नै छ । व्यापारी र प्रहरीले चालकमाथि शंका गरिरहेको छ । चालकले आफ्नो संलग्नता इन्कार गरिरहेका छन् । चालकको इन्कारीमाथि पिकअप भ्यान धनी कलैया उपमहानगरपालिका–१ का रामबालक साह तेली पनि विश्वस्त छ । 

पर्सा जिल्ला वीरगञ्जका प्रहरी उपरिक्षक रेवती ढकालले घटनाबारे अनुसन्धान भइरहेको दाबी गरेका छन् । घटनास्थलमा सीसी क्यामराले कैद गरेको फुटेजमा भीडभाड देखाएकोले व्यक्ति चिन्न नसकिए पनि मरिच गायव गर्ने दुबै चढेको बाइकको नम्बर भने पहिचानमा आएको प्रहरी स्रोतले बतायो ।

यसरी नाटकीय शैलीमा गायब भएको १० लाख बजार मूल्य पर्ने उक्त २५ बोरा (२० क्वीन्टल) मरिचबारे न त प्रहरीले जिम्मेवारी लिएको छ, नत अरु कसैले । त्यसैले घटना रहस्मय बनेको छ । घटना भएको चार दिन बितिसक्दा मरिचको अतोपत्तो छैन् ।

पिकअप धनीसित मरिच व्यापारीले मरिचको मूल्य तिर्नुपर्ने दाबी गरिरहँदा भाडामा पिकअप दिएका पिकअप धनीलाई अक्क न बक्क भएको छ । ‘व्यस्त बजारबाट दिन दहाडै नाटकीय शैलीमा गायव भएको मरिचबारे अनुसन्धान हुनुपर्छ,’ पिकअप धनी रामबालक साह तेलीलले भने, ‘हाम्रो चालकलाई प्रहरीले पनि अनाहकमा दुई दिन थुन्यो । र व्यापारीले पनि आक्रोसित भएर कुट्यो ।’ 

घटना सुनाउँदा उल्टै प्रहरीबाट थनिनु गरेको उनले गुनासो गरे । उता एसपी ढकालसित घटनाको अनुसन्धानबारे प्रतिक्रिया लिंदा उनले पीडित पक्षका चालक र पिकअप धनीले प्रहरी हुँ भन्दै मरिच गायव गरेको विषय आफूलाई नसुनाएको बताए । प्रतिक्रिया दिने क्रममा चालकलाई पठाइदिन पत्रकारलाई नै उनले अर्हाए जस्तो प्रतिक्रिया दिए । 

‘अनुसन्धानको ‘बेसिक’ प्रक्रियाबाट अनुसन्धान गर्दै छु । अनुसन्धान भएपछि पुरै बताउँछु,’ उनले भने, ‘प्रहरी संलग्नता पाइए उसको जागिर त्यतिखेरै चट्ट हुन्छ । बर्खास्त गर्छु ।’ उता चालक थापाको मोबाइल खोसिएकाले उनीसित प्रतिक्रिया लिन सम्भव भएन ।

‘पिकअप छाडेर मरिच गायब गर्ने दई जनाको समूहमा देखिएका दुबैले प्रहरी जस्तो बोल्ने गरेको र कपाल कटिङ, हाउभाउ सबै प्रहरीको जस्तै थियो,’ मोबाइलबिहीन बनेका चालक थापाको भनाई उद्दृत गर्दै पिकअप धनी रामबालकले भने, ‘चालकलाई उनका काका प्रकाश थापाले दशैं मान्न प्रहरीबाट बुझेर लगेका छन् ।’ 


प्रतिक्रिया