बारामा भएको सवारी दुर्घटनामा ३ को मृत्यु, २ घाइते

कार्तिक २४, २०७५ | बारा

बाराको निजगढ नगरपालिका ९ स्थित भमरा पुल नजिक बोलेरो जिप र ट्याक्सी आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ । अन्य २ जना घाईते भएका छन् । चितवनबाट सर्लाही जाँदै गरेको ग २ च २३२५ नम्बरको बोलेरो र रौतहटको गुजारा नगरपालिकाबाट निजगढ आउँदै गरेको बा २ ज २११७ नम्बरको ट्याक्सी गएराति एक बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत भमरा पुल नजिक ठोक्किएका हुन् ।

दुर्घटनामा ट्याक्सी चालक भक्तपुरका समुन्द्र श्रेष्ठ तथा ट्याक्सीमा सवार निजगढ ७ का आकाश माझी र सोही ठाउँका विशाल माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो ।

ट्याक्सीमा सवार नरेश माझी र अजुर्ण माझीको चितवनको भरतपुरस्थित पुरानो मेडिकलमा चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ । प्रत्यक्षदर्शीका अनुसार, चालकले मादक पदार्थ सेवन गरी ट्याक्सी चलाएकाले दुर्घटना भएको हो ।

उनीहरु तिहार मानेर आफन्तको बाट सिमरी फर्कदै थिए । बोलेरोका फरार चालकको खोजी भईरहेको जानकारी दिंदै प्रहरी निरीक्षक लामाले ट्याक्सीले नियन्त्रण गुमाएपछि आफ्नै लेनमा रहेको बोलेरोसँग ठोक्किन पुगेको बताउनुभयो । 


प्रतिक्रिया