इन्धन तस्करी रोक्न खोज्दा कुटिए प्रहरी, चार जना घाइते

पुस ३, २०७५ | वीरगञ्ज

पर्साको जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरको सीमावर्ती नाकाबाट भारततर्फ इन्धन लगिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिँदा झडप भएको छ । झडपमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित चार जना प्रहरी घाइते भएका छन् ।

मंगलबार बिहान करीब ३ बजेको समयमा मोटरसाईकलमा तेल बोकेर पाँडेपुर हुँदै भारतको इनर्वाको देवीगञ्ज तर्फ लगिरहेका तस्कर समूहलाई नाकामा पर्ने ओरिया खोलामा गस्ती गरिरहेका प्रहरीले रोकेका थिए । प्रहरीले रोक्न खोजेपछि विवाद भएको थियो ।

तस्कर समूहको सहयोगका लागि केही स्थानीय पनि ओरिया खोला नजिकै पुगेका थिए । तस्कर र स्थानीयको कुटाईबाट पाँडेपुर चौकीका इञ्चार्ज असई विष्णु देव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र पिडारी गुठीका असई जय किशुन महतो घाइते भएका छन् ।

झडपमा परि गम्भीर घाईते भएका प्रहरीको वीरगञ्जको एसएल न्यूरो एण्ड जनरल अस्पताल पानीटंकी र नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । झडपमा समान्य घाईते भएका प्रहरी सहायक निरीक्षक जय किशुन महतोको स्थानीय स्वास्थ्य चौकी मै उपचार गराई फर्किएका छन् ।

टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान चौधरीको अवस्था सिकिस्त रहेको चिकित्सकले बताएका छन् । घटना लगत्तै जिल्ला प्रहरीका कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल र प्रहरी नायव उपरीक्षक मान बहादुर राई घटनास्थल पुगेका थिए ।

‘प्रहरीलाई कुटपिट गर्ने भारततर्फ भागेका छन्,’ एसपी ढकालले भन्नुभयो, ‘समकक्षी प्रहरीसँग समन्वय गरी उनीहरुलाई नियन्त्रणमा लिइनेछ ।’ खोजतलास गर्दा खोसिएको हतियार घटनास्थल नजिकै खेतमा फेला पारेको एसपी ढकालले बताउनुभयो ।

भारत भन्दा नेपालमा पेट्रोल र डिजेल सस्तो पर्ने भएकाले नेपालको सीमावर्ती बजारबाट ठूलो परिमाणमा इन्जन तस्करी हुने गरेको छ । दुबै देशका सीमाका बासिन्दाहरुले यो कारोबार गर्दै आएका छन् । 


प्रतिक्रिया