भारतीय रेल्वे ट्रयाकमा दुई छात्राको शव भेटियो

माघ २७, २०७५ | वीरगञ्ज

सीमावर्ती भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै आइतबार उनीहरुको शव फेला परेको हो । छात्राको पाकेटबाट भारतीय प्रहरीले बरामद गरेको परिचय पत्रले उनीहरुको परिचय खुलेको हो ।

पर्साको वीरगञ्ज पब्लिक सेकेन्ड्री स्कूलमा कक्षा ११ मा अध्ययनरत कालिकामाई गाउँपालिका–२ भेडिहारी निवासी निभा कुमारीको परिचय खुलेको छ । अर्को छात्राको पकेटबाट किरण लेखिएको पर्ची फेला परेको छ । 

घटनास्थल वरिपरिका स्थानीयका अनुसार बिहान दुबै छात्रा एकअर्काको हात समाएर कौडिहार गाउँतर्फबाट रेल्वे ढालातर्फ आइरहेका थिए । सामाजिक सञ्जालमा छात्राहरुको शव र परिचयपत्र सहितको विवरण भाइरल बनेपछि पर्सा प्रहरी रक्सौल तर्फ लागेको छ ।

प्रहरी उपरिक्षक रेवती ढकालको नेतृत्वमा प्रहरी टोली रक्सौल तर्फ गएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो । ‘हामीले पनि सामाजिक सञ्जालबाटै घटना बारे थाहा पाएका हौँ,’ डीएसपी शर्माले भन्नुभयो, ‘पुष्टि गर्न टोली लागेका छौँ, एसपी साहेबको टोली रक्सौल गएको छ ।’

सामाजिक सञ्जालमा भाइरल भएको छात्राको परिचय पत्रको विवरण लिएर प्रहरी टोली उनी अध्ययन गर्ने स्कूल पुगेको थियो । ‘परिचय पत्रमा उल्लेख भएकी छात्रा त्यही स्कूलमा अध्ययन गर्ने रहेछन्,’ डिएसपी शर्माले भन्नुभयो, ‘छात्राको घरतर्फ पनि टोली पठाएका छौँ ।’ 


प्रतिक्रिया