ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुखको कारबाही फुकुवा

चैत्र ६, २०७५ | ताप्लेजुङ

ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेललाई पार्टीले गरेको कारबाही फिर्ता भएको छ । नेकपा प्रदेश कमिटीले कारबाही फिर्ता गरेको प्रदेश इञ्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार हिजो (मंगलबार) देखि लागू हुनेगरी फिर्ता गरिएको हो ।

‘ननर प्रमुखको हैसियतले गर्ने काम कारबाही गराउनु भनेर जिल्ला कमिटीलाई निर्देशन दिएका छौं,’ घिमिरेले भन्नुभयो, ‘उहाँ हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधि भएकाले पार्टीले अब त्यही अनुसारको ब्यवहार र सम्मान दिएर काममा लगाउँछ ।’ प्याकुरेललाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको भन्दै तत्कालीन एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । 

पूर्व सांसद तथा जिल्ला कमिटी सदस्य भुपेन्द्र थेवे, पत्नी उर्मिला थेवेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समर्थकमाथि कारबाही गरिएको भन्दै पार्टीभित्र समेत विरोध हुँदै आएको थियो ।

पार्टी अध्यक्ष बलबहादुर साम्सोहाङले माथिल्लो निकायबाट फुकुवा भए फेरि कारबाही गर्ने सम्मको चेतावनी दिएका थिए । प्याकुरेल कारबाहीपछि पार्टीको कुनै गतिविधिमा संलग्न थिएनन् । कारबाही फुकुवाको बारेमा प्याकुरेलले ढिलै भएपनि न्याय पाएको बताएका छन् । 


प्रतिक्रिया