पाथीभरा मन्दिरमा एकै दिन नौं हजार तीर्थयात्री

चैत्र २३, २०७५ | ताप्लेजुङ – ३

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार (आज) बिहान नौं हजार तीर्थयात्रीले पूजा गरेका छन् । यो वर्षकै सबैभन्दा बढी तीर्थयात्री दर्शनका लागि आएको पाथीभराका पूजारी डिल्ली आचार्यले बताउनुभयो । बिहान ९ बजेपछि लगातार पानी परिरहेकाले तीर्थयात्रीहरु प्रभावित भएका छन् । 

तीर्थयात्रीलाई लाइनमा लगाएर पूजा गराउने काम भएको र वर्षा, झरी, बादलबाट जोगाउन चाँडो पूजा गरेर फर्काउने प्रयास भइरहेको पूजारी आचार्य बताउँछन । लाइन व्यवस्थापन तथा तीर्थयात्रीको सहजताको नेपाल प्रहरी, सशस्त्र प्रहरी र पाथीभरामा कृयाशिल संघसंस्थाबाट १० जना स्वयंसेवक परिचालन गरिएको छ ।

मध्यान्ह १२ बजेसम्म पनि आउने र जानेहरुको ताँती लागेको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका अहेव उमनाथ पौडेलले बताउनुभयो । पाथीभरामा कति तिर्थयात्री आउँछन भनेर संख्या यकिन गर्न माथिल्लो फेदीमा तथ्यांक टोली राखिएको छ । पौडेलका अनुसार एउटै समूह १ सय ११ जना सम्मको रहेको थियो । नौरथको सुरुवात सँगै पहिलो पटक यत्तिधेरै तीर्थयात्री आएको माथिल्लो फेदीका ब्यवसायी बताउँछन । 

सशस्त्र प्रहरी बल कञ्चनजञ्घा गुल्मका गुल्मपति श्याममणी ढकालका अनुसार शुक्रबार बिहान देखि बेलुकासम्म २ सय ५१ वटा यात्रुबाहक सवारी साधन जिल्लामा भित्रिएका थिए । पाथीभरा जानकै लागि शनिबार बिहान थप १५ वटा गाडी आएका थिए । बस, ट्याक्सी, जिप लगायतका सवारी आएका हुन् । धेरै गाडी र यात्री आएपछि आफूले सशस्त्र प्रहरीको टोली परिचालन गरेको उहाँले बताउनुभयो ।

तथ्यांक टोलीका अनुसार यसअघि गत शनिबार १३ सय ६६ जना माथिल्लो फेदीबाट मन्दिर गएका थिए ।

अधिकांश तीर्थयात्रीले प्लाष्टिक ओडेर यात्रा गरिरहेको स्थानीयले बताएका छन् ।

वृद्धवृद्धा र बालबालिकाकालाई धर्मशालामा राखेर सुरक्षित ढंगले पूजाका लागि लगिएको स्वयंसेवकले बताएका छन् । एउटै समूहमा आउने र एकै पटक पूजा गर्न चाहने भएकाले वृद्धवृद्धा र बालबालिका छुट्याएर पूजा गराउन कठिन भएको स्वयंसेवकहरु बताउँछन । 


प्रतिक्रिया