नियमनको नाममा नियन्त्रण गर्नु मानव अधिकारको मूल्य मान्यता विपरित : आयोग 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १, २०७६ | काठमाडौं

- राष्ट्रिय मानव अधिकार आयोगले संसदमा दर्ता गरिएको मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई लोकतन्त्र र मानव अधिकारका मूल्य मान्यता अनुरुप बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले आज विज्ञप्ति जारी गरी विधेयकका हालका प्रावधानप्रति आपत्ति जनाउँदै नियमनको नाममा नियन्त्रण गर्नु मानव अधिकारको मूल्य मान्यता विपरित हुने उल्लेख गरेको छ ।

सरोकारवालास“गको परामर्श तथा छलफलबाट परिमार्जन गरी नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने वातावरण सृजना हुन नदिन आयोगले आग्रह समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित प्रेस काउन्सिल ऐन, २०४८ का प्रभावकारी व्यवस्थामा अकारण परिवर्तन गरी यसको स्वायत्ततामा अंकुश लगाउन खोज्नु मानव अधिकारको आधारभूत मान्यता तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल हुन जाने आयोगको निष्कर्ष छ ।’

 


प्रतिक्रिया