राहत लिन ‘परिचय पत्र’

असार ३१, २०७६ | सिरहा

बाढीबाट पीडित परिवार राहत पाउनबाट वञ्चित हुन नदिन स्थानीय तह र जिल्ला प्रशासनले सिरहामा ‘परिचय पत्र’ लागू गरेको छ । त्यसका लागि स्थानीय तहले घरदैलो सर्वेक्षण सुरु गरी परिचय पत्र वितरण सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले परिचय पत्रका आधारमा राहत वितरण गरिंदा सही पीडितको हातमा राहत पुग्ने, दोहोरिने र पीडित राहतबाट वञ्चित नहुने जानकारी दिनुभयो । लगातारको वर्षाबाट बाँध भत्काएर कमला खोलाको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीया लगायत दर्जनौं गाउँ डुबानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अविरल वर्षाका कारण जिल्लामा ५ हजार २० घरमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यसैगरी ९ हजार ६२ घरमा आंशिक क्षति र २६ सय ३१ परिवार बाढी र डुबानबाट विस्थापित भएका छन् । बाढीमा परी मिर्चैया नगरपालिका ४ का ५ वर्षीया प्रियंका महतो, रागनी महतो, नरहा गाउँपालिका ३ का ५५ वर्षीय शोभित कटुवाल, २० वर्षीय बली साहको मृत्यु भएको छ । मृतक एक महिलाको पहिचान हुन सकेको छैन् । 

सिरहातर्फको कल्याणपुर, सारस्वर र बसबिटा क्षेत्रबाट बाध भत्काएर कमला खोलाको बाढी बस्ती प्रवेश गरेको हो । बाढी बस्ती पसेपछि जिल्ला प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सम्मिलित टोलीले स्थानीयलाई सुरक्षित स्थानमा उद्धार गरेका छन् ।

उद्धार गरिएकाहरुलाई सुरक्षित स्थानका विद्यालयमा राखिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो । सिंचाइका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छोड्दा त्यहीबाट बाढी गाउँमा पसेको थियो । 

लगातारको वर्षाले पानी जम्दा सिरहा कर्जन्हा नगरपालिका ३ स्थित सुन्दरबस्ती विस्थापित बनेको छ । ४० घरपरिवारको बसोबास रहेको बस्ती पूरै डुबानमा परेको छ । पूर्व पश्चिम राजमार्गस्थित कमला खोलाछेउ सडक किनारमै रहेको बस्ती रातभरको पानीले डुबानमा परेपछि सडक किनारमा त्रिपाल टाँगेर बसेका छन् ।

‘बस्ती डुबानमा परेपछि जनप्रतिनिधिलाई उद्धारका लागि सहयोग मागेपनि कुनै सुनुवाई गरेनन्’ त्रिपाल टाँगेर बसेका बस्तीका उद्धव र विमला राई दम्पतीले भने ‘भएको त्रिपालको टहरो बनाएर बसेका छौं, बिहानै देखि लालाबाला भोकैं छन् ।’ ४ छोरा १ छोरी सहित उनी राजमार्ग छेउमै टहरोमा त्रिपाल टाँगेर ओत लागेपनि अन्नपात, लत्ताकपडा झिक्न नपाउँदा बालबालिका भोकै रहेको उद्धवले सुनाए ।

बाढीले गर्भवतीको बिजोग

बाढीबाट प्रभावित मध्ये गर्भवती बढी मारमा परेका छन् । अन्नपात बाढीबाट डुबेपछि उनीहरु भोकैं बस्न बाध्य छन् । ‘अन्नपात सबै बगाएपछि ७ महिनाकी सुत्केरी बुहारीलाई खानेकुरा ख्वाउन सकेका छैनौं, चिउराको भरमा छौं’ सुन्दरबस्तीकी देशिया सदाय मुसहरले भनिन् ‘आफू भोको रहेपनि गर्भवती बुहारीलाई बाँडेको चिउरा खाएर भोक टारेका छौं ।’

त्रिपाल मुनी ओढ्ने ओछ्याउने नहुँदा चिसोले बुहारीको शरीर सुन्निएको उनले सुनाइन । वर्षापछि मंगलबारबाट घाम लाग्दा स्वास्थ्य समस्या देखिनसक्ने भएकाले जिल्ला प्रशासनले स्वास्थ्यकर्मी टोली परिचालन गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भन्नुभयो, ‘बाढीपछि स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले स्वास्थ्यकर्मीको टोली बनाएर पीडित क्षेत्रमा परिचालन गरेका छौं ।’ पीडित तत्काल स्थानीय तह र प्राकृतिक प्रकोप उद्धार समितिबाट राहत वितरण सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया