पर्यटन मन्त्रीद्वारा सुकेटार विमानस्थलको अवलोकन

भाद्र ६, २०७६ | ताप्लेजुङ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गृहजिल्ला ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थल अवलोकन गर्नु भएको छ । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री भट्टराईले बिहीबार विमानस्थल अवलोकन गर्नु भएको हो ।

अवलोकनका क्रममा उहाँले नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर रुपेश मुरारकाबाट विमानस्थलमा हुने कामको बारेमा जानकारी लिनु भएको थियो । सुकेटार विमानस्थलका लागि १६ करोड रुपैयाँ छुट्याइएको छ । सो विमान स्थल निर्माणका लागि  ठेक्का लागिसकेको छ । यो रकमबाट दुई सय मिटर धावन मार्ग कालोपत्रे गरिने छ । अहिले विमानस्थलको धावनमार्ग ७ सय मिटर कालोपत्रे छ । थप दुईसय मिटर कालोपत्रे हुन बाँकी रहेको छ । 

कालोपत्रे पछि पूर्व दिशामा रहेको ढिस्को फुटाउने र माटो फाल्ने गरिने छ । यति भएपछि विमानस्थलको दुवैतिरबाट जहाज अवतरण हुने अपेक्षा गरिएको मन्त्री भट्टराईले बताउनुभयो । मुरारकाले भने नौ सय मिटर कालोपत्रे भएपछि र ढिस्को फुटाएपछि दुवैतिरबाट लेण्डिङ र टेकअप हुने बताए । निर्माण अवधिमा उडान भने नरोकिने प्राधिकरणले जनाएको छ । 

दुई महिनापछि सुरु भएर दुई वर्षमा पूरा हुने विमानस्थल प्रवेश मार्ग बनाउने र यात्रुहरुको सहजताका लागि भवन ब्यवस्थापन गर्न पनि बजेट छुट्याइएको छ । आफ्नै जिल्लामा विमानस्थल भएरपनि जहाज चढ्न झापाको भद्रपुर धाउन बाध्य भट्टराईले विमानस्थललाई ब्यवस्थित गर्ने तर्फ ध्यानदिने बताउनु भएको छ । यो २०२८ सालमा निर्माण गरिएको विमानस्थल हो । 


प्रतिक्रिया