सुदूरपश्चिममा डेंगुका बिरामी दिनदिनै बढ्दै 

भाद्र २७, २०७६ | धनगढी

सुदूरपश्चिममा डेंगुका बिरामीहरुको संख्या दिनदिनै बढ्दै गएको छ । बिहीबार अपरान्ह सम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीको संख्या ७७ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डेंगुका ३२ र स्क्रव टाइफसका बिरामी ४५ छन् ।

डेंगुबाट सबैभन्दा बढी कैलाली प्रभावित भएको छ । बिहीबारसम्म १५ जना डेंगु र ५ जना स्क्रब टाइफसका बिरामी कैलालीमा देखिएको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले दैनिक रुपमा डेंगुको असर र बिरामीहरुको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । 

यस्तै, सबैभन्दा बढी स्क्रब टाइफसका बिरामी डडेलधुरामा फेला परेका छन् । हालसम्म ४० जनामा स्क्रव टाइफस देखिएको छ । डेंगुबाट कैलाली पछि दार्चुलामा बढी संख्या देखिएको छ । दार्चुलामा ८, कञ्चनपुरमा ६, डोटीमा १, अछाममा १ र बैतडीमा एक जनामा डेंगु देखिएको छ । यी मध्ये डोटीमा एकजनाको मृत्यु भइसकेको छ ।

बिरामीहरु कतिपय उपचारपछि घर फर्किसकेको र कतिपय उपचाररत रहेको मन्त्रालयका अधिकृत हेमराज खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सबै क्षेत्रबाट डेंगुको प्रभाव नियन्त्रण गर्न हातेमालो गर्न मन्त्रालयले आह्वान गरेको छ । बिहीबार मन्त्रालयले डेंगु नियन्त्रण गर्न आवश्यक कदम चालेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनुभयो । 


प्रतिक्रिया