दोषीलाई कारबाहीको माग गर्दै बाँकेमा प्रर्दशन जारी
भाद्र ३१, २०७६ | काठमाडौं
सभापति किरण कोइरालामाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै बाँकेमा नेपाली कांग्रेसले आज पनि प्रदर्शन गरेको छ । गत शुक्रबारदेखि जारी आन्दोलनको चौंथो दिन आज कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगञ्जको धम्बोजी चोकमा टायर बालेर विरोध जनाएको छ ।
आन्दोलनमा बोल्दै प्रदेश ५ का प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले सरकारले दोषीमाथि कारबाही नगरे आन्दोलनले अझै चर्को रुप लिने चेतावनी दिनुभयो । कांग्रेस सत्तामा नभएपनि असक्षम नभएको उहाँको भनाई थियो ।
हिजो जिल्ला प्रहरी कार्यालयमा एक घन्टा धर्ना दिएको कांग्रेसको महिला संघले भोलि प्रदर्शन गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै आएको छ । कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत गत बिहीबार नेकपाका कार्यकर्ताले सभापति कोइरालामाथि कुटपिट गरेको कांग्रेस बाँकेले जनाएको छ । सभापति कोइरालाको हात भाँचिएको छ ।