दुर्गममा बिजुली, गाउँले खुशी

आश्विन ३०, २०७६ | सिरहा

तराईको सुगम जिल्ला भएपनि वर्षौदेखि अध्यारोमा बस्न बाध्य सिरहाको उत्तरवर्ती चुरेक्षेत्र धनगढीमाई नगरपालिका १४ स्थित आधा दर्जन बस्तीमा बल्ल बिजुली पुगेको छ । नगरपालिकाले वडा र नगरस्तरीय बजेटबाट बिजुली पुगेपछि उत्तरवर्ती चुरेक्षेत्रका बिहीबारे, कसाईटार, अमिलटार, अम्बास, सानो कसाइटार, करमचौरीका १ सय ३ घरधुरी लाभान्वित भएका छन् ।

जिल्लाको उत्तरवर्ती विकट चुरे क्षेत्रका ती बस्ती बाटघाटो, खानेपानी, बिजुली, सञ्चार मात्र होइन आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित थिए । गाविसबाट धनगढीमाई नगरपालिकामा परिणत भएपछि नगरपालिकाले ती बस्ती पुग्न सडक सञ्जाल विस्तार गरेको छ ।

सडक पुगेपनि बिजुली नपुग्दा ती वडाका गाउँहरु रातमा उज्यालोका लागि सोलार र ‘टुकी’ कै भरमा थिए । पूर्व–पश्चिम राजमार्गको जिरोमाइलबाट १३ किलोमिटर उत्तर विकट क्षेत्रका ती गाउँका लागि नगरपालिकाले बिजुली बाल्नका लागि आर्थिक वर्ष २०७५/७६ को वडा र नगरस्तरीय ३० लाख बजेट खर्चिएको थियो । नगरप्रमुख हरि नारायण चौधरीले स्वीच थिचेर बत्तीको शुभारम्भ गर्नुभयो । 

‘रात परेपछि सोलारको भर पर्न बाध्य थियौं, वर्षायाम र जाडो मौसममा घाम नलाग्दा सोलार काम गर्दैनथ्यो’ बिहीबारेकी गृहिणी लालसेरी राईले भनिन् ‘सोलारले काम नगर्दा सिसीमा सलेदो हालेर महंगो मट्टितेल प्रयोग गरी टुकी बाल्नुपथ्र्यो, बिजुली बलेपछि खुशी छौं ।’ अन्धकारबाट टुकी र सोलारको प्रकाशले मधुरो उज्यालो भएपनि बालबालिकाको पठन पाठन र घरेलु कामकाजी महिलाले बिजुली नहुँदाको पीडा धेरै भोगेको उनले सुनाईन् । 

‘खाना, खुडो पकाउँदा दाउराको धूवाँ, रातपर्‍यो टुकीको धूवाँ खप्नुपरेको छ’ अमलीटारकी रन्जना मगरले भनिन् ‘दोहोर मारमा पर्दा कतिपय महिलामा स्वास्थ्य समस्या समेत देखा पर्न थालेको थियो, बिजुली बलेपछि गाउँ नै उज्यालो भएको छ ।’

‘सोलारको प्रकाश मधुरो हँुदा अक्षर देख्नलाई समस्या हुन्छ’ मदन भण्डारी स्मृति माविमा कक्षा ५ मा अध्ययनरत करमचौरीका सन्देश राईले भने ‘बिजुली बलेपछि सोलारको मधुरो प्रकाश झेल्नुपरेको छैन, पढाईमा सहज भएको छ ।’

१० गाउँ अझैं ‘टुकी’ कैं भर : 

धनगढीमाई नगरपालिकाको उत्तरवर्ती विकट चुरे क्षेत्रको वडा नम्बर १४ का ६ गाउँमा बिजुली पुगेपनि त्यही वडाका १० गाउँ अझै रातमा उज्यालोका लागि ‘टुकी’ कै भरमा छन् । स्थानीयका अनुसार गाउँका केही घरमा मात्र सोलार बती राखिएको छ । वस्तीका अधिकांश टुकीको भरमा रात काँट्छन् ।

चट्टान, मैनामैनी, चकमके, हात्तीढुंगा, राई खोला, बीचलापानी, खट्टी, मड्यान, महाजनी, अम्बले लगायत १० गाउँका स्थानीय अझै टुकी कैं भरमा रात काट्न बाध्य छन् । । धेरैजसो खोलानाला पर्ने ती गाउँको वर्षायाममा तीन महिना बजारसँग सम्बन्ध विच्छेद हुन्छ । अधिकांश मगर, राई, तामांग, सुनुवार समुदायको बसोबास रहेको उत्तरवर्ती विकट चुरे क्षेत्रमा अवस्थीत ती गाउँमा ५ हजार भन्दा बढी जनसंख्याको बसोबास छ । 

वडाध्यक्ष ठरेन्द्र राईले यसवर्ष बिहीबारे, कसाईटार, अमिलटार, अम्बास, सानो कसाइटार, करमचौरीका १ सय ३ घरधुरीमा बिजुली पुर्‍याउन सफल भएपनि वडाका अझै १० गाउँमा बिजुली पहुँच नहुँदा टुकीकैं भरमा रहेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा वडाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरी चट्टान, मैनामैनी, चकमके, हात्तीढुंगा, राईखोला लगायत आठ गाउँमा बिजुली पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा बिजुलीकै लागि महाजनी र मड्यानसम्म बिजुली पुर्‍याउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरि नारायण चौधरीले बिजुली बत्तिको शुभारम्भ गर्दै अबको एक वर्षभित्रमा आध्यारोमुक्त वडा घोषणा गरिने जानकारी दिनुभयो ।  


प्रतिक्रिया