‘पश्चिम सेती प्रदेशवासी बनाउँछौं’ : भीम रावल  

कार्तिक १, २०७६ | धनगढी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले पश्चिम सेती निर्माण गर्न सरकारलाई आवश्यक पर्ने रकम प्रदेशवासीले जुटाउन सक्ने बताउनु भएको छ । सरकारले बजेट वक्तब्यमा पश्चिम सेती सरकारले आफै निर्माण गर्ने बताएपनि बजेटमा भने शुन्य गरिएकोमा उहाँले आक्रोस ब्यक्त गर्नुभयो ।

‘नेकपालाई अपार जनमत दिएको सुदूरपश्चिमलाई नेतृत्वले विकास र प्रतिनिधित्वको प्राथमिकतामा निरन्तर वेवास्ता गरे क्षति हुनसक्छ’ इन्चार्ज रावलले भन्नुभयो, ‘जनमतको कदर नगरे आगामी निर्वाचनमा पार्टीले अहिले प्राप्त गरेको अहिलेको पोजिसन नरहन सक्छ ।’

साढे ७ सय मेगावाट विद्युत उत्पादन क्षमता रहेको पश्चिम सेती जलविद्युत आयोजनालाई यस प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार मानिँदै आएको छ । 

२५ वर्षदेखि चर्चामै सीमित रहेको यस पश्चिम सेतीबाट पछिल्लो पटक चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेपछि बजेट वक्तब्य मार्फत सरकारले आफै निर्माण गर्ने उल्लेख गरेको थियो । तर बजेट भने राखेन ।

नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुका लागि  सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै रावलले सरकारले सुदूरपश्चिमलाई उपेक्षा गर्दै आएकोमा आक्रोस प्रकट गर्नुभयो । नेतृत्वले विगतका प्रतिवद्धता, चुनावी घोषणपत्रमा उल्लेखित योजनाहरु र संविधानको मर्मलाई बेवास्ता गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

उहाँले जनप्रतिनिधिहरुलाई चुनावी प्रतिज्ञा र घोषणा पत्र स्मरण गर्दै काम गर्न आग्रह समेत गर्नुभयो । ‘श्रोतको दुरुपयोग गरे जनविश्वासमाथि घात हुन्छ’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिको जीवन चरित्रलाई हरेक नागरिकले निगरानी गरिरहेका छन् ।’


प्रतिक्रिया