भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दामा संलग्न ४ पक्राउ

कार्तिक १६, २०७६ | बर्दिया

नेटवर्किङ ब्यवसाय गरेको अभियोगमा बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । भारतीय ओरियन्स कम्पनीको नाममा लामो समय नेटवर्किङबाट अवैद्य रुपमा औषधी बिक्री गर्न सदस्य बनाएको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नाम राजापुर नगरपालिका—३ कि आशा थारु, बारबर्दिया नगरपालिका ७ का दिपक चौधरी, गुलरिया नगरपालिका ५ का हिमाल भन्ने प्रजय चौधरी र गुलरिया नगरपालिका ४ का विवेक थारु रहेका छन् । यसका मुख्य नाइके नेपाली नागरिक कैलाली टिकापुर—१ का अन्दाजी २६ वषीृय साजन चौधरी भारतमा छन् ।

उनलाई पक्राउ गर्न नेपाल प्रहरीले ईन्टरपोल मार्फत रेड कर्नर आदेश जारी गरेको छ । नेपालमा प्रतिबन्धित युनिटी जस्तै ओरियन्स कम्पनीले औषधी बिक्री गर्न बर्दियाका गरीब, अशिक्षित युवायुवतीलाई सदस्यता वितरण गरेको खुलासा भएको एसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

पश्चिम तराईको बर्दिया, कैलाली, कञ्चनपुर सम्म यसले जालो फैलाई अवैद्य रुपमा दैनिक ठूलो संख्यामा सदस्यता बनाई ठगी गरी रहेको प्रहरीले जनाएको छ । भारत उत्तरप्रदेश राज्यको लखिमपुर स्थित उक्त कम्पनीको सदस्य बन्नका लागि ६० हजार भारु शुल्क लिने गरेको छ ।

एक जना सदस्य बनेपछि उसले थप दुई जनालाई सदस्य बनाउन जरुरी भएकोले सयौं युवायुवती ठगिंदै गएको प्रहरी उपरीक्षक बास्तोलाले बताउनुभयो । यसको प्रधान कार्यालय, भारतको चेन्नई, शाखा दिल्ली र सिमावर्ती लखिमपुरमा नेचुरेल वेल ईन्टरप्राइजेज नामक उपशाखा सञ्चालित छन् ।

नेटवर्किङ धन्दामा बेरोजगार सोझा युवा युवती छन् । नेटवर्किङ ठगी मुद्दा लागेकाको आरोप प्रमाणित भए मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा ३ (ग) बमोजिम सात वर्ष सम्म कैद र ७० हजार जरिवाना हुने प्रावधान छ । 


प्रतिक्रिया